Third parf of Churotwali
Click Here to Part First
Click Here to Part Second.
किताबजस्तो औडाहा चीज अरु मलाई केही लाग्दैन।किताब किन्नु त मेरो धर्मले सरासर पाप भनिठान्छ।पढ्नु चाँहि म पाप धर्मसँग जोड्दिनँ।पढिहाले पनि दिनको दुई चार पेज पढ्छु ।जसमा एक दुई लाइन यस्ता वाक्य भेटिन्छन् जसले दुई चार दिन होहल्ला गर्छन्।मलाई पुगिहाल्छ।
ईन्द्रबहादुर राई -जिन्दावाद।
शंकर लामिछाने - जिन्दावाद ।
अल्लिपैले किताब बिमोचन कार्यक्रममा किताब बाँड्थे।म पनि भड्किएको दुखी आत्माजस्तो कताकताबाट भड्किएर ती कार्यक्रममा पुगेको हुन्थेँ।किताब दिन्थे।म लिएर हिड्थेँ।कार्यक्रम सकिएपछि कतै चिया खान बस्यो।चिया खायो।त्यो किताब त्यहीँ टेवलमा छोडेर हिड्यो।तीन पटक म यस्तै गरेको छु।खासमा यी सम्झनाहरु पनि यसै गरी चियाको रित्तो कप छेउछाउ छाडेर हिड्न मिल्ने भए ?
यो गर्मी जसले पातका आङमा झुसिलकिरा बसेजस्तो यो शरीर ओइलाएर,मैलाएर चिलाएर खत्तम पारिसक्यो।दैनिकी झ्याल खोलेर सुरु हुन्छ झ्याल बन्द गरेपछि सकिन्छ।झ्यालको छेउछाऊ जिन्दगी घुमिरहन्छ।दिनमा कयौँपटक म झ्याल खोल्छु।पल्लो घरको झ्यालमा हरियाली छैन।बेला बेला एउटा बुढो रुख झ्यालनिरबाट सडकतिर हेर्छ।मेरा आँखा त्यो झ्यालमा बास बस्न सक्दैनन्।आँखा अड्याउने ठाउँ पनि चाँहिदो रहेछ।
कुन्नि कताको स्कूलको स्मारिका मेरो कोठासम्म सकुशल आइपुगेछ।जसले अचेल पंखाको काम गर्छ।बिस्तारामा पल्टिएर त्यही किताबले हम्किएर आफूलाई चिस्याउने काम गरिरहेछु म।
एउटा चुरोटको बट्टा किनेर सरासर म होटलतिर लागेँ।सोचेथेँ-आज चुरोट वालीलाई चुरोटको बट्टा नै उपहार दिन्छु।सोच्दैछु-कसरी दिनेँ ?के भनेर दिनेँ ?ऊ पड्किई भनेँ?ठूलै दुर्घटना भएर अतुलनीय क्षति भएर भोलिबाट चिया खाँदा चुरोटको धुँवा उडाउने मान्छे अगाडि भएन भने ?क्रमशः डरको आक्रमणमा परिसकेको छु म।होटलनिर पुगेपछि त मेरा पाउ पनि कम चल्न थाले।बल्लबल्ल भऱ्याङ चढेँ म।ऊ आएर कुर्चीमा आफूलाई अड्याइसकिछ।चुरोट पनि मागिसकी छ ।तर अझै जलाएकी रैनछ।
सोधिहाली-किन ढिला आज ?
भनेँ-लुगा धुन लाग्या थेँ।
ऊ हाँसी।
भनी-अचेल राम्रा लुगा लगाउन थालिस्या छ त।
म केही बोलिनँ।मेरो लुगा सितिमिति चेन्ज नै हुँदैन।र उसँग भेट भएपछि आजसम्म लगभग सधैँ एउटै ड्रेसमा आएको छु ।ऊ पनि ड्रेस चेन्ज खासै गर्दिरहिन छ।दुब्लो शरिर,खुल्ला लुगा।देवकोटाले यात्री कवितामा 'हाडहरूको सुन्दर खम्बा' यसैलाई देखेर लेखेका हुन सक्छन्।उसले लुगा लगाएको र ह्याङ्गरमा झुन्ठ्याएकोमा फरक देखिदैँन।
चिया आयो ।खाएँ।ऊ चुरोटको फेँद एष्ट्रेमा राखी।चुरोटको बट्टा उसलाई आज नदिने निर्णय गरिसकेँ मैले। आआफ्नो पैसा तिरेर तल आइपुग्यौँ हामी।छुट्टिनु अघि म केही सोध्नैँ आटेको थिएँ।यो सोध्ने भन्ने थिएन।बोल्नकै लागि जे सोधे पनि हुन्थ्यो ।तर मभन्दा अघि ऊ बोली-हजुरको खल्तीको के हो ?
छाती जोड जोडले चल्यो मेरो।मुटु निक्लिएर सडकमा पुगेर मलाई हेर्न थाल्यो।खुच्चिङ पारामा 'कल्ले चुरोट किन्न भनेको तँलाईँ ?आशयमा ङिच्च गर्यो।म खुब आत्तिएँ।
अर्को पटक-के हो भन्नु न' भनेपछि मैले अात्तिदै भनेँ
-मोबाइल! अँ मोबाइल हो।
म आफै अचम्म परेँ ।कसरी मोबाइल भन्न सकेँ भनेर।फेरि बोली ऊ-"हजुरको नं दिनुस् न।"
अब मुटु सडकबाट आएर आफ्नो ठाउँमा बस्यो।
मैले भनेँ -टिप्नुस् न ।
-केमा टिपौँ ?मेरो मोबाइल छैन-ऊ बोली।यत्तिकैमा फेरि बोली-त्यो अर्को खल्तीको के हो नि ? मेरो मुटुले ठाउँ छाड्यो।म झस्ल्यास्स ब्युँझिएँ।
म ब्युझिँदा पसिनाको आहालमा थिएँ।कस्तो सपना ?उठेर पानी खाएँ। किन डराएँ म ऊसँग ?खै ! मसँग उत्तर छैन।रात पर्नै आँटेछ।घामले "म जाम् ?" भन्दै छ।मेरो उत्तर - जा,शुभयात्रा,पुगेपछि फोन गरेस्।
एक घन्टापछि-
खाना बनाएर खाइसकेपछि म फेरि चिया खान हिडेँ।सोचिरहेछु-यो सपना उसलाई सुनाऊँ ,नसुनाऊँ ?
.......।
Comments
Post a Comment