विभक्ती
चैत्र ११ गते । समय- राति । आकाशमा लटरम्म तारा फलेको रात कोठामा निसास्सिरहेछु म । खाटबाट उठेर झ्यालनिर पुग्छु ,झ्यालको छाती च्यातेर सडकतिर हेर्छु ।पल्लो घरको चिमको उज्यालो थोरै कोठामा छिर्छ । फेरि खाटतिरै फर्किन्छु । जसको कुनै अर्थ छैन । बिना अर्थ ,बिना प्रयोजन पनि धेरै कुरा गरिँदो रहेछ । कोठाको चिम जलाउन अल्छि लागेको छ । खाना खाने कुनै सुरसार छैन । फेरि चामल सकिएको पनि त अस्ति हो । घर फोन गर्नु पर्ने हो ,आमैलाई दुःख लाग्दो हो फोन नगर्दा । मोबाइल पनि कता परेछ कुन्नि । कोठाको मुखमा ताल्चा लगाएर बार्दलीमा उभिन्छु । आकाश ,नौलाख तारा । सायद तारामा पनि घटबढ भैसके होलान् । दुई कक्षामा पढ्दा हो क्यारे नौ लाख भएको । कतै पढाएनन् ताराहरूको मृत्युदर ,जन्मदर ।भर्खरै एउटा तारा झर्छ उतातिर । यसले औसत मृत्युदरको जिन्दगी बाँच्यो होला कि नाइँ ? धेरैपटक देखेको छु तारा झरेको र झरिरहन्छन् । कुनै प्रेमीले दुईचार थान तारा टिपेर बगलीमा पनि राखिदियो होला प्रेमिकाको । सबै मजस्ता ल्वाँठ प्रेमी पनि त कहाँ हुन्छन् र ! हुन सक्छ अब आकाशमा आठ लाख तारा बाँकी छन् ।फेरि आठ लाख मध्ये बालबालिका तारा कति होलान् ? जवा...