ईश्वर निदाइरहेछ
"आज पनि सिरानीको खोल धुन भ्याउनु भएन है मास्टर्नीले ? " कोठाबाट बाहिर निस्किए ईश्वर । घरको भित्तामा रहेको बिजुलीको स्वीच थिच्छन् । प्याट्ट! आवाज आउँछ । त्यही समयमा एक गुन्द्री जति उज्यालो करेसाबारीमा देखियो । शौचालयको ढोका खुल्ला रहेछ । ईश्वर भुनभुनाउँदै शौचालयतिर लागे ।शौचालयबाट क्वारर्र आवाज आयो।
जुठेल्नोमा भाँडा मस्काइरहेकी आस्थाले ट्याङ्कीबाट धारो खोलिन् । शौचालयको आवाजलाई धाराको आवाजले जित्यो । आस्थाले चुपचाप भाँडा माझिरहिन् ।
खै! मास्टर्नी! यस्सो हात पखालौँ - ईश्वर शौचालयबाट फर्किएर हात पखाले । आस्था थोरै छेउमा सरिन् ।
सानो ग्यालेन काटेर भाँडा माझ्न खरानी राखिएको छ जुठेल्नो छेउमा । परालको चकटी जत्तिको फराकिलो सिमेन्टको भाँडा माझ्ने ठाउँ छ । चकटीको ठिक पूर्व एक हात जति अग्लो पेटी उठाएर त्यसमाथि पानी ट्याङ्की राखिएको छ । त्यही ट्याङ्कीबाट धारो आधा खोलेर आस्थाले भाँडा माझिरहेकी छन् । तारमा झुन्डिएको चिमको एक दानो उज्यालोमा यी दृश्य देखिएका छन्। खरानीपानी सानो कुलेसोबाट भातका सिताहरूलाई बगाउँदै करेसाबारीतिर गइरहेछ ।
कोठामा पस्नुअघि ढोका अगाडि राखिएको जुटको बोरामा ईश्वरले खुट्टा पुछे । सरक् सरक् आवाज आयो । चुइक्क! गर्दै ढोका पनि बज्यो । भाँडा माझिरहेकी आस्थाले टाउको पछाडि घुमाएर हेरिन् एकपटक । फेरि भाँडा पखाल्न थालिन् । कोठाबाट ढोकाको काप हुँदै एक धर्सो उज्यालो आगनसम्म देखियो। रातको आठ बजिसकेको हुँदो हो सायद त्यो बेला यदि कसैलाई समय हेर्ने ईच्छा हुँदो हो त ।
भान्सामा पुगेर काठको पुरानु फल्याकमाथि भाँडा घोप्ट्याइन् । फल्याकको एक छेउबाट भाँडामा रहेको पानी तरर्र भुँइमा खसेर एउटा ध्वनिलाई बिउँझायो । खाली बेलामा पानी भरिन् । छेउको फिर्कालाई खुट्टाले अगेनातिर सारेर टुसुक्क बस्दै अगेनामा हात सेकाउन लागिन्। जलेर बाँकी रहेका दाउरालाई अगेनामाथि राखिन् । जलेका ठुटा पनि काम लाग्छन् फेरि आगो बाल्नलाई ।
भान्सा कोठाबाट निस्किएर शयन कक्षमा लागिन् ।सानो खाटमा मैलो सिरानी च्यापेर कुनातिर फर्किएर ईश्वर निदाइरहेका थिए । धेरै बेर ढोकामै उभिरहिन् । ढोकामा चुकुल लगाएर ठूलोखाटमा बसेर फेरि धेरै समय ईश्वरलाई हेरिरहिन् - जो अर्को खाटमा कुनातिर फर्किएर निदाइरहेछ । खाटमा बस्दा भुँइतिर झुन्डिएका खुट्टा बिस्तारै चिसो हुँदै आए । खुट्टा खाटमा ल्याइन् । कुनाबाट सिरक तानिन् । खुट्टालाई सिरकले छोपिन् । बिस्तारामा पल्टिएर फेरि ईश्वरलाई हेर्न थालिन् ।
ईश्वरहरूलाई लाग्छ - सृष्टि गर्नु पो त काम । अरु नाथे के काम !
मध्य रातमा त्यो कोठा गाउँको पुरानो कुलायनको मन्दिर जस्तो देखियो । ईश्वर निदाइसकेको , आस्था जागै रहिरहेको । मध्यरातसम्मन् आस्था तेल समाप्तिको पर्खाइमा रहेको टुकी जस्तो धिपधिप बलिरहिन् कोठामा तर मान्छे भनें साँझमै निदाएको थियोे टुकी ननिभाइकन ।
ईश्वर बिहान आठै बजे विद्यालय जान तयार भैसकेका थिए । आस्थाले खाना तयार गरिसकेकी थिइन् । खाना खाएर ईश्वर विद्यालयतिर लागे । आस्थाले घरमा रहेर तिनै काम गर्न थालिन् ,जसलाई ईश्वरहरूले कामको कोटीमै राख्दैनन् । ईश्वरहरूलाई लाग्छ - सृष्टि गर्नु पो त काम । अरु नाथे के काम !
मैले भनेकै त हुँ ! यस्तासँग विहे गर्दिनँ भनेर । १३ बर्ष जेठोसँग कोही बिहे गर्छन् ? विहे त समानसँग हुन्छ, सामानसँग हैन । तर सामान सोचेर जोसँग पनि विहे गरिदिन्छन् । एउटा सरकारी खैराँती नोकरी के हुर्याएका थिए , सात पुस्ताले हुन्छ भने। चुपचाप बस्नेहरूको आवाज बरु ठूलो थियो होला । तर मेरो रुँदै चिच्याएको आवाज मौन बस्नेको भन्दा कमजोर सुनियो । प्रारब्ध नै यस्तै होला , हैन त सुदार्नी बज्यै ? - आस्थाले दुःखको बिस्कुन लगाउन लाइन ।
"मास्टर्नी नानी, आगो लिउनुस् न " सुदार्नी बज्यैले पहिल्यै सल्काएर आधा बाँकी रहेको एकठुटो सिगरेट निकालिन् । आस्थाले चिम्टाले समातेर आगोको कोइला लिएर आइन् भित्रबाट । सिगरेटको ठुटो धेरै सावधान पूर्वक सल्काइन र नाकबाट एक मुस्लो धुवाँ निकालिन् ।नाकबाट निस्किएको धुँवाको बीचमा नाकको बुलाकी बादलभित्रको घामजस्तो मधुरो देखियो।
-बज्यै ! एउटा कुरा भनुम् ? - भन्नू न , मास्टर्नी नानी- मलाई मास्टर्नी नानी नभन्नुस् न है ।- ज्या ! किनओ नभन्नि ? - मलाई मनै पर्दैन । आस्था नानी भन्नू न है ? - नाउँ काड्न हुन्न भो ! नानी मात्रै भन्चु , हुन्न तो ? - हुन्च ,अनि केही भन्न आउनु तो कि यस्सै पस्नुभको? - सेमिको बीउ छ कि भनेर नि । सुर्काँ फाल्दिन परो । भए एक दुई छाक खाम्ला । नभए ढुकुरले खान्चन् ।
म हेर्छु है त - भनेर आस्था आँटीमा उक्लिन् । लगत्तै काठको भर्याङ बजेको आवाज पनि आयो । सुदार्नी बज्यै गोठको छेउतिर गएर करेसाबारी एकमेसो हेरिन्। तिउनको त बिस्तुर केही रैन्च याँ पनि - आफै आफै बोल्दै आगनमा आइन् आस्थाले हातमा एक मुठी बीज लिएर बज्यैको पटुकोमा हाल्दिइन् ।
लुगा धुन छ बज्यै ! साँझ टोक्छन् फेरि - भन्दै आस्थाले कोठाबाट लुगा निकालिन् । सुदार्नी पनि लगत्तै निस्किइन् ।
त्यो कोठाका लुगाहरूले धेरै पटक आफूलाई सुकिलो तुल्याउने अवसर पाए । तर त्यो सिरानी- जसलाई ईश्वरले सुत्दा अंगालोमा च्यापेर सुत्छन् -ले भने धेरै समयसम्म पानी देख्न पाएन ।
ईश्वरको अंगालोमा च्यापिने सिरानीको खोल पनि धेरैपछि सफा भएर डोरीमा हावासँग खेलिरहेको देखियो आज ।
आज पनि साँझ पर्यो । ईश्वर साँझमा घर आइपुगे विद्यालयबाट । आकाशमा ताराहरू टिमटिमाउन थाले । पारी भेगमा बिजुलीका चिमहरू जल्न थाले । आकाशमा तारा बाक्लिँदै गए । चारैतिर चिमहरू जल्दै गए । मानौँ आकाश र धर्तीको प्रतिस्पर्धा छ । चुक घिप्लिक्क पोखियो, अँध्यारो बाक्लो हुँदै गयो । क्षितिज हराउँदै गयो । धर्ती र आकाशको रेखा मेटियो । घरबाट चारैतिर चिमहरू, ताराहरू बलिरहेका देखिए । तर चारैतिर अँध्यारो मात्रै थियोे ।
उज्यालोले नै अँध्यारो जन्माउँदो रहेछ । उज्यालो पुरुष हो , आस्था प्रकृति हो । छाँया सृष्टि हो । एउटा चिमले पनि त सृष्टि गर्दो रहेछ ।
भान्साको काम सकेर आस्था कोठामा आइन् । कोठामा ईश्वर निदाइसकेछन् । कुनातिर फर्केर , सिरानी च्यापेर । उही सानो खाटमा ,जसमा एकजना मात्रै सुत्न मिल्छ ।
ढोका लगाइन् । खाटमा थ्याच्च बसिन् । ज्यानलाई त्यसै छोडिदिएर ।
हुन त एकघन्टा हिँडेर आउन पर्छ । विद्यालमा बच्चाहरूले दिक्क पार्दा हुन् ! थकाइ लाग्दो हो । बच्चाहरू त मायालु हुन्छन् फेरि । पढाउन पनि त रमाइलो हुन्छ होला ! रमाइलोमा थकान महसुस हुँदैन होला !
विद्यालयका बच्चाहरू सम्झिएपछि आस्था टोलाइरहिन् । खाटबाट तल झुन्डिएका खुट्टा हल्लिरहेका छन् । चिमको प्रकाशले हल्लिरहेका खुट्टालाई आधार मानेर भुँइमा दुईवटा छाँया जन्मायो । उज्यालोले नै अँध्यारो जन्माउँदो रहेछ । उज्यालो पुरुष हो , आस्था प्रकृति हो । छाँया सृष्टि हो । एउटा चिमले पनि त सृष्टि गर्दो रहेछ । उज्यालो नै त ईश्वर रहेछ ।
आस्थाले अनास्थापूर्वक ईश्वरलाई हेरिरहेकी छन् । ईश्वरले सिरानी च्यापेर निदाइरहेछ । कोठाको भित्तामा नेपालको नक्सा छ । अर्को भित्तामा टाँसिएको फोटोमा दुईवटा बच्चा छन् । जसमा लेखिएको छ - स्वागतम् । अझ अर्को फोटो छ भगवान् शिवको - जसमा निदाइरहेछन् शिव ।मानौँ टोलाइरहेका आस्थाका आँखाले भनिरहेछन् - 'कोही त जगाऊ ईश्वरलाई । सृष्टि रोकेर निदाइरहेछन् ।'
आस्था जुरुक्क उठ्छिन् । "इ मन्छेलाई सुत्न पनि आउँदैन " । ईश्वरको अंगालोको सिरानी निकालेर कुनापट्टि फाल्दिन्छन् । अनि सिरक ओढाइदिन्छिन् । ईश्वरले थोरै ज्यान तान्छन् । आँखा बन्द नै छन् । फेरि कुनातिर फर्किएर सुत्छन् । आस्था आएर टुसुक्क खाटमा बस्छिन् । यतिबेला उनका खुट्टा झुन्डिरहेका छन् तर हल्लिएका छैनन्। चिमको उज्यालोले एउटा निर्जीव छाँया जन्मायो फेरि ।
आज पनि आस्थाको दियो अवेरसम्म जलिरह्यो । भित्ताको फोटोमा शिवजी निदाइरहे । फोटो किन्नेले त पक्कै निदाइरहेको ईश्वरको फोटो दिनुस् भनेर मागेनन् होला । हरेक घरमा हुन्छन् भगवानका फोटो । कसैको घरको भित्तामा गणेशको फोटो होला ,साथमा होलान् ऋद्धि र सिद्धि । कसैको घरमा होलान् लेटिरहेका विष्णुको चरणमा समाइरहेकी लक्ष्मीको फोटो । यो घरको भित्तामा छन् - निदाइरहेका शिव ।
+ + +
आँगनको छेउमा छ आरूको रुख । तर रुखमा फल छैन । हरिया चिल्ला पातहरू जेठको गर्मीले मुर्झाएका छन् । कोठामा बसिरहेकि छिन् आस्था । माटोका घरभित्र दिउँसोमा सितल हुन्छ । खाटमा बसेर हेरिरहेकी छन् अर्को खाट ।
कोठामा एउटा खाट राखे पनि त हुन्छ । बाहिर राखौँ एउटा खाट , पाहुनाहरू बस्न हुन्छ - भनेकी पनि हुन् आस्थाले । तर उनले एक्लै खाट बाहिर सार्न सक्ने कुरा भएन । ईश्वरलाई उठेपछि विद्यालय जान हतार भैहाल्थ्यो बिहान । साँझ रात पर्ने बेलामा आउछन् घरमा।
आस्थाले एकतमास हेरिरहेकी छन् अर्को खाटमा धेरै समयदेखि । टोलाइरहेकी छन् । हुन सक्छ केही सोचिरहेकी छन् ।
जुरुक्क उठेर सरासर आस्था भान्सामा जान्छिन् । हातमा चक्कु लिएर फेरि कोठामा फर्किन्छिन् । सानो खाटको सिरानीलाई भुँइमा राख्छिन् । घुँडा टेक्छिन् । आँखा चिम्लिएर चक्कुले सिरानीमा रोप्न थाल्छिन् । लगातार रोपिरहन्छिन् । ... सिरानीबाट कपास बाहिर निस्किन थाल्छ । भुँइ सेतै हुन्छ । तर पनि आस्थाले सिरानीमा चक्कुले हानिरहन्छिन् ।
धेरैबेरपछि आस्था उठेर खाटमा बस्छिन् । पसिना पुच्छिन् । कपाल मिलाउँछिन् । यति बेला उनको अनुहारमा चरम सन्तुष्टिको आभा झल्किरहेछ ।आँखा चम्किरहेछन् ।
साँझ भान्साको काम सकेपछि पनि आस्था अगेनामा बसेर अबेरसम्म बत्ति कातिरहन्छिन् । तर आज ईश्वर जागै छ । सिरानी खोजिरहेछ ।
https://durbartimes.com मा प्रकाशित
Comments
Post a Comment