दिदी ! धेरै माया छ तँलाई । फोन उठा है ...

अाकाशबाट कस्तो धमिलो पानी पर्यो।मलाई विश्वास लागेन।एक अञ्जुली पानी हातमा थापें।साच्चिकै धमिलो रहेछ।क्रमशः अौंलाका फेंदबाट पानी चुहिएर सकियो।हातमा धुलोका ससाना कण मात्रै बाँकी रहे।
केही समय पहिले-

अाँखाबाट भनें सफा पानी पर्यो।मलाई विश्वास पनि लाग्यो।मैले अञ्जुलीमा थापेर त्यही अाँसुमा अाफ्नो अनुहार हेर्ने कुनै प्रयास गरिनँ।अाँसु बग्दै गयो।साथमा विश्वासहरूलाई बगाएर लग्यो।अपेक्षाहरूलाई बगाएर लग्यो।अन्त्यमा हत्केलामा धुलोको कण बाँकी रहेजस्तै हृदयमा पीडा बाँकी रह्यो,सम्बन्धमा मनमुटाव बाँकी रह्यो।र यी अाज पनि छन् बाँकी। अाज पनि चलिरहन्छ मनमुटाव।

मैले साथीलाई भनेथें- "कस्तो धमिलो पानी परिरहेछ यता त।"
उसले भन्यो - "धमिलो मन भएका मान्छे बस्ने ठाउँ भएर होला।"
मैले उसको अनुहार हेर्न पाइन,उसको अनुहार पढ्न पाइन।नत्र म उसले बोलेको वाक्यको अर्थ बुझ्थें।किन कि ऊ र म फोनमा बोलिरहेका थियौं।केवल एकपटक सोचें मैले- के मेरो मन साच्चिकै धमिलो छ त? मलाई दुई पटक सोच्न अल्छी लाग्यो।अल्छी हुनुको फाइदा हो यो।म जाँगरिलो हुन्थें भनें त्यही कुरालाई बारबार सोचेर म अाफूलाई बिरामी पथमा धकेलिरहेको हुन्थें।

रात तन्नेरी भैसकेपछि म अनलाइन निस्किन्छु निशाचरजस्तो।मान्छेले 'भूत' भनेर सम्बोधन गर्न थालेपछि यस्तो भएको हुनसक्छ।दिदी अनलाइन रहिछ।म्यासेज गर्छे।लेख्छे- "तँ अचेल बिग्रिएको छस् रे। अचेल तेरो माया मलाई पहिलेजस्तो लाग्दैन।"
म केवल रिप्लाईमा लेख्छु- "दिदी "
दिदीको- तँ अचेल बिग्रिएको छस्- म्यासेजको 'अचेल' शब्द व्यर्थजस्तो लाग्छ।म पहिलेदेखि नै यस्तै छु।अचेल तेरो माया पहिलेजस्तो लाग्दैन - यो वाक्य म दिदीको अावाजमै सुन्न खोज्छु।निर्जीव शब्दलाई अाफूले चाहेको मान्छेको अावाजमा अनुवाद गर्नु गाह्रो कुरा हो।म कसोकसो अनुवाद गरिछोड्छु।दिदीले मनिलो अनुहार बनाएर निर्दोष भएर भनिरहेकी छे।मलाई नमज्जा लाग्छ।ऊ म्यासेज लेख्दै जान्छे- "तँ अर्काको मनसँग खेलिराछस् रे।यस्तो नगर् मोती तँ।"



ऐया! अाकाश खसेर कस्तो नमज्जाले टाउकोमा लाग्छ।मभित्रको मान्छे रुन खोज्छ।म नरुन अाग्रह गर्छु।मभित्रको मान्छेलाई थाहा छ मैले के गरें के गरिन भन्ने कुरा।मैले म्यासेज छोड्छु- "दिदी! तैंले कतै केही गलत सुनिस् कि! एकपटक सम्झी त।"

उसले म्यासेज गरिराख्छे।म फेरि भन्छु - "कखचाले केही भन्या थे र?"
- "उनलाई तेरो के चिन्ता।पिर त मलाई पो पर्च नि।उनले के भन्ते र! मलाई पो पोल्च र भनिछु"
म फेरि लेख्छु- दिदी! गलत बुझिस् कि तैंले!एकपटक सम्झी त !
मलाई लेख्न मन लाग्छ- "दिदी! म कसैको मनसँग खेलेछैन! सत्य दिदी ।बरु एक दुई जनाले मेरो मनसँग खेले!"
म लेख्दिनँ।मलाई केही उपाय अाउँदैन।
ऊ लेख्दै जान्छे- खुसी रहेस्!
- म तँसँग खुसी छैन।
-मेसेज नगरेस् अब!

अन्त्यमा लेख्छे- "कुनै लेखकलाई गर्ने सम्मान गर्नेछु किनकी तपाईंको लेखन खुब मन पर्च।"
'तपाईं' शब्द मलाई बहुत कुरुप लाग्छ, बहुत नमिठो लाग्छ।
सधैं 'तँ' भनिरहेको मान्छेले 'तपाईं' भन्यो।यो भन्दा नरमाइलो कुरा के हुनसक्ला ?
भेट हुँदा सधैं अंगालोमा अाउने मान्छेले टाढैबाट नमस्ते गरेजस्तो भो। म हिजो जर्मनीको फ्यानजस्तो अबेरसम्म निदाउन सकिनँ।
दिदी ! धेरै माया छ तँलाई । फोन उठा है

Comments

Popular posts from this blog

-खुसी अन गरौँ

एकयात्रा : अन्त्य एक अादर्शको