-खुसी अन गरौँ

म अलिक व्यस्तताले युक्तजस्तो देखिन्छु हिजोआज।अार्थिक बर्ष समाप्त भैसकेको छ र नयाँ अार्थिक बर्ष सुरु भैसकेको छ।केही हिसाबकिताब मिलाउन छ।केही उपलब्धिहरूको चर्चापरिचर्चा गर्नुछ।
यो बर्षमा कति रोइयो भन्ने जानकारी लिन खोज्छु म बाटोको छेउनिर खुट्टा तल झारेर अाफ्नै चप्पलमाथि बसेर।भर्खर रोपाइँ गरेका खेत चर्चरी फुटेर बसेका छन्।हरेक देशले लगाएको सिमानाजस्तो भाग लगाएर टुक्रा टुक्रामा परिणत छ सिङ्गो खेत।फेरि म बिर्सिरहेको छैन कि
हिजो साँझ नै हो खेतमा पानी लगाएको।यसरी चर्किरहेको छ खेत।पानी लगाएर ठाउँमा अाउनेछ।मान्छे पनि एकपटक अाफूले अाँसुले सिचाइ गर्यो भनें केही समय चर्किरहन पर्दैन ।



बिग्रिएको धाराजस्तो दिनरात चुहिएर जिन्दगी चल्दो रहेनछ।सोच्थें- मेरा अाँसु कसैको ट्वाइलेट सफा गर्ने पानी हैनन्।म केवल सोच्थें।मलाई यो सोच्न अल्छि लाग्यो र पहाडतिर हेर्छु।कस्तो नरमाइलो लाग्छ पहाडले फेंदीलाई च्याँपेको देख्दा।पहाडले फेंदीलाई च्याप्दा नरमाइलो लाग्नु अत्यन्त झुर कुरा हो।फेरि सत्य हो पहाडले फेंदीलाई च्यापेको।पहाडको फेंदी हुँदै उकालो उकालो बगेको बाटो एउटा मोडनिर पुगेर हराएको छ।अानन्द लाग्छ कम्तिमा मोडमा पुगेर त हराएको छ! मान्छेहरू बीच बाटोमै हराउँछन्।दुख लाग्छ।
म फेरि सोच्छु- यो बर्षभर कति पटक "मिस यु" भनें हुँला।र मिस युको रिप्लाईमा कति पटक "हस्" अायो होला,अनि कति पटक ङिच्च परें हुँला! कति पटक "हेट यु" भनें हुँला? फेरि कति पटक हेट यु को रिप्लाईमा -था छ,था छ,हजुर हेट गर्नुन्छ भन्ने- अायो होला!

म यस्तै झिनामसिना कुरा सोचेर व्यस्त दैनिकी धकेलिरहेछु।
उपलब्धिहरूको लेखाजोखा गर्छु। ६,७ अोटा शून्य उपलब्धि हात लागेछन्।यति धेरै शून्य उपलब्धि हाँसिल गर्नु पनि ठुलो कुरा हो!कुनै दिन झुक्किएर भए पनि एउटा उपलब्धि हाँसिल भयो भने पनि अब गज्जप हुनेछ।यी सबै शून्य उपलब्धिको अगाडि एउटा उपलब्धि राख्नेछु।

यो बर्षमा कति जना मान्छे बेपत्तासँग मन परे,कति जना मान्छे देख्दै चाटूँ लाग्नेबाट छुदै टाटु लाग्नेसम्म पुगे!दिलको बाटो कति जना हिंडे!कति जना दिलको बाटो सम्झेर भिरको बाटो हिंडे!बेइमान अंगालोले कति मान्छेलाई अर्काकी गर्लफ्रेन्ड भनेन!पापी अाँखाले कति जनालाई मोडमा नपुगेसम्म हेरिरह्यो!कति रात निद्राले अाफ्नो ड्युटी पूरा गरेन!कति बिहान कलेज जान मानेनन् खुट्टाले!कति पटक नदी किनारमा बसेर अाफू बसेको दुई हात टाढासम्मका ढुङ्गा टिपेर नदीमा फाले यी हातले!कति पटक घर फोन नगरेर गाली गरे घरकाले! र अाफ्नो सम्झेको मान्छे कहिले उडाइदियो अर्काले! यावत कुराको तथ्यांक मागिरहेछ मभित्रको मान्छेले।त्यसैले अचेल अलिक व्यस्त छु म।

साच्चिकै व्यस्त छु म अचेल।हिजो दिनभर सोचिबसेछु मेरो कमिजमा पाँच अोटा बटन किन छन्? चार अोटा किन छैनन्? किन छ अोटा छैनन्?दिनभर बहुत तनाबमा थिएँ म!
व्यस्त हुनाले बिहान ब्रस गर्न त बिर्सें बिर्सें।साँझ सुत्ने बेला- मलाई ब्रस गर्न किन अल्छी लाग्छ होला- खालका केही थान सोचाइ सोच्न नि बिर्सेछु।धुमधाम भुलक्कड छु नि म!
घुर्कीको भाषामा - हजुर अाफ्नो लागि जे जस्तो भएर हिंडे हिड्नुस् तर मेरो लागि राम्रो भएर हिंड्न पर्छ।मेरा साथीले तेरो प्रेमी नराम्रो रैछ भने भने म हजुरका गाला भत्काइदिन्छु- भन्ने खालकी मायालु भए खै! केही हुन्थ्यो कि! तर भगवान न हुन्,यस्तो खालको अन्याय जो कोहीसँग गर्दैनन्।

...त,
भुलक्कडको कुरा अाइरहेथ्यो नि है!
साच्चिकै भुलक्कड छु म! तिम्रो गालामा केही थान दाँतहरू बिर्सेर हिंडूजस्तो लाग्छ।तिम्रो अाँखातिरै लामो समयसम्म मेरा अाँखा बिर्सेर हिंडुजस्तो लाग्छ।तिम्रा कोमल हातमा मेरा हात जिन्दगीभरलाई बिर्सेर हिंडुँ लाग्छ।तर म यो तिमी भन्ने को होला सोचेर बिरामी पर्छु।

कसैलाई मन दिऊँ पनि नलागेको हैन।फेरि अचेल विश्वास कसको गर्नु! मन लगेर अँध्यारो कोठाको खाटमुनि चिसो भुँइमा कटहर टिपेर राखेजस्तो राख्देलान् रे!सर्दी लाग्ला रे! अाफ्नो मन हो नि! माया पो लाग्छ त!
तर एक साँझको एउटा मायालु समयमा मलाई एउटा खुब मीठो प्रश्न सोधियो।त्यो समयमा चैं मलाई लाग्यो कि मन भन्ने जिनिस टपक्क टिपेर दिइहालूँ।चिसो भुँइमा त के घरभन्दा बाहिर तगालोनिर राखे नि राखोस् उसले!
कस्तो बेपत्ता राम्रो र मीठो प्रश्न सोधिन्छ मलाई बिहान ब्रस गरेका सेता दाँतले भरिपूर्ण एउटा सुन्दर मुखबाट- हाम्रो लभ कहिले पर्छ? उत्साहले जुरुक्क उठ्छु म।ठ्याङ्ङ टाउको ठोकिन्छ दलिनमा।उहीँ जोसमा थुचुक्क बस्छु खाटमा।माथि फर्केर दलिनतिर हेरेर निन्याउरो अनुहार बनाएर मनमनै प्रश्न गर्छु दलिनलाई- के गल्ती गरें र मैले?
- अात्तिएको र मात्तिएको निको हुन्न छोरो!
- हस्, अब यस्तो गर्दिनँ।

त्यही पिडाले युक्त बिग्रिएको अनुहार लिएर रिमोट समात्छु र टिभी खोल्छु।टिभीमा डिस होमले "खुसी अन गरौं" भन्दै बिज्ञापन बजाइराख्छ।म खुसी अन गर्ने निहुँमा भान्सामा जान्छु र अामैलाई भन्छु- अामा! भोक लाग्यो!

Comments

Post a Comment

Popular posts from this blog

एकयात्रा : अन्त्य एक अादर्शको

दिदी ! धेरै माया छ तँलाई । फोन उठा है ...