Buspark - untold story

बस पार्क।
यहाँ बिभिन्न किसिमका साधनहरूका साथसाथै केही आशाहरू पनि पार्किङ गरिन्छ।
कसैले त जिन्दगी पनि यहीँ पार्किङ गर्छन् तर यो बसपार्क नै हो।कोमल तर मैला केही जिन्दगी देखिन्छन् सधैं ।पोहोर पनि देखेथें।अाज पनि देखें।भर्खरै एउटा मान्छे चुरोट प्युदै अाउँछ।चुरोटको ठुटो फ्याक्छ र ऊ मेरा अाँखाबाट क्रमशः हराउँछ र नयाँ चित्र अल्झिन्छ अाँखामा।
मैलो केटोले चुरोटको ठुटो टिप्छ।एक सास तान्छ।अाफ्ना साथीहरूतर्फ हेरेर हाँस्छ। ऊ किन हाँस्यो?मलाई यसको अर्थ थाहा छैन।तर ऊ हाँस्यो सजिलै।सायद उसले हाँस्न सिकेको छ।ऊ हाँस्यो।यो नै मलाई मन पर्यो।
आशा- परम दुखको भाँडो।
आशा- निराशाको शत्रु ।
आशा-तरुनीको नाम।
आशा- कसैकी आमैको नाम नि हुनसक्छ।
बुटबल बसपार्कनिरै छु ।
बसपार्कमा आएपछि छुट्टिनु पर्छ रे।एकपटक छुट्टिएर हेरूँ क्यारे।
पोहोर हो क्यारे।
घरबाट बुटबल फर्किदा साथमा एउटी तरुनी जी पर्नु भएको थियो।म भर्खर लभबाट बाहिरिएको थिएँ।रेड कार्ड पाएर।प्रेमीहरू यति धेर ल्वाँठ हुन्छन् कि जुनकुनै रातो चीज गुलाब देख्छन्।मैले पनि गुलाब पाएँ।फेरि उसले दिएको कुरा जे पनि प्यारो लाग्छ ।बिछोड पनि खुब प्यारो थियो।अँ तरुनी जीसँग बुटबलसम्म सँगै आएँ।मैले खुब धेरै हँसाएँ यात्रामा उसलाई।कुन्नि कुन ठाउँ आउदा भनेको थिएँ- यो बसमा 'आमा बुबाको आशीर्वाद' नलेखेर;'गलफ्रेन्डको आशीर्वाद' लेखे के हुन्छ होला ?
ऊ खुब धेरै हाँसेकी थि।हाँस्दै गर्दा हातले एक ढाप मेरो ढाडमा लगाई।अनि ऊ होसमा आई - कि म अपरिचित हूँ।अनि धेरै बेरसम्म झ्यालतिर फर्किरही।
पाल्पाको मोडहरूमा मलाई भोमिट आयो।उसले मेरो टाउको समातिदी।भोमिट रोकिएपछि उसको अनुहारमा हेरेँ-केही पनि थिएन।मैले थाहा पाएँ कि यतिधेर भैसकेपछि पनि केही नहुँदोहेछ।
सिद्धबाबानिरै अाइपुगेपछि मैले हाँस्दै भनेको थिएँ- हजुरको नाम सोध्नै भुलेछु।
त्यसपछि ओठ चलेका थिए।त्यस समयमा यस्तो अावाज अाएको थियो -ठिक गर्नु भो।म बताउने वाला पनि थिइनँ।तर किस्नु, तपाईंको नाम थाहा पाएँ मैले।
ऊ एकखेप हाँसेकी थिई।
मैले कसरी ? भन्नू अगावै भनेकी थिई- हजुरले फेसबुक चलाउदा देखें।
सोधेकी थिई-एक पटक गुमेको कुरा फेरि पाइने कुरामा कत्तिको अाशावादी हुनुन्छ?
- खै!
बसको बेगका कारण उत्पन्न हावाले प्लास्टिकको झोला पर उछिट्टियो।केही धुलो उड्यो।अनि केही समयपछि सान्त भयो ।त्यतिबेला बस टाढा पुगिसकेको थियोे।
बसपार्क अाइपुगेछि उसले भनेकी थिई- नाम नसोध्ने मेरो ?
मैले पनि प्रश्न गरें- नाम नबताउने मलाई ?
दुबै हास्यौं।झोला टिपिसकेपछि भनी- अाशा।
ऊ पर पुगिसकेकी थिई।मनमा शब्द उत्रियो- यो कस्तो अाशा?थाहा पाएपछि निराशा देखियो।
अाज-
बसमा चढिसकें।
मेरो नजिकैको सिट खाली छ।
म चाहन्छु-घरै पुगुन्जेलसम्म खाली रहोस् यो सिट।खाली भैराखोस्।म खाली भैराखूँ।
मेरो दोस्रोपटक लभ परेर पनि तेस्रो हुने क्रममा छ।
एउटै मान्छेसँग ।
दिल कपडाजस्तै च्यातेर मात्रै कहाँ पुग्यो र?
ऊ फेरि फर्किएर अायो र पोछा बनाएर गयो।
सोच्छु- तेस्रो पटकमा के बन्ने हुँला म?
चाहन्छु - मेरो कसैसँग प्रेम नहोस्।
Comments
Post a Comment