Churotwali 4th Part
क्षितिजमाथि पुगेको आकाशको जन्डिसग्रस्त एक्लो आँखाले पहाडका टाकुरामा हेर्नाले पहेँला भएका खोचहरू मेरा आँखाले छरपस्ट देखिरहेछन्।दिनभरको घामले सेकिएका रुखले भर्खर आङ कन्याउने प्रयास गरिरहेछन्।पातहरू हल्लिनाले थाहा भैरहेछ कि धर्तीले सास फेर्न थाल्यो।यो दिन यस्तो थियो धर्तीले दिनभर सास फेरेन ।म दिनभर आफ्नो पङ्खा नभएको कोठामा फनफनी घुमिरहें,पाकिरहेँ।साँझ पर्ने क्रम जारी छ ।यत्तिकैमा मेरो मोबाइल बज्छ।एकछिन खोज्छु भेटिदैन।खाटमुनि खसेको रहेछ ।फोनमा पुरा घन्टी बजेर समाप्त भैसकेपछि मात्र म मोबाइल निकाल्न सफल हुन्छ।हातमा मोबाइल समातेको केही क्षणमा फेरि ऊ आफू बज्न थाल्छ ।नयाँ नम्बर ,ल्यान्डलाइनबाट आएको फोन,मलाई ल्यान्डलाइनबाट फोन गर्ने कोही छैन ।एकछिनमा फोन उठाउँछु म।
- नदी किनार आउनुस् ,म बुद्धको मूर्तिनिर नदीतर्फ फर्किएर बसेकी हुन्छु ।
म कानमै मोबाइल राखेर मनमनै भन्छु- चुुरोटवाली।
मानौँ यी शब्द एउटा कापीको पन्नामा लेखेर राखेकी थी ।फोन उठ्नासाथ सरासर वाचन गरी ,अनि फोन राखी।थाहा छैन मैले 'हजुर' भनेको सुनी या सुनिन।
फोन नं लगेको एक्काइसौं दिनमा फोन गरी।मलाई सुरुसुरुका चार दिनमा आश थियो फोन आउँछ।त्यसपछि आश पनि बतासले उडायो।र लाग्यो उसले नं टिपेको चिर्कटो पनि उडिसकेको छ हावामा,अथवा डुबिसकेको छ पानीमा।
म सुरुमा फूलका खुट्टाले कोठाबाट निस्किएँ र नदी किनार पुग्दा मेरा खुट्टा सिसाका भैसकेका थिए।वजनयुक्त।नदी किनार पुगेपछि उसले बताएको ठाउँनिर पुगेर एक्ली आइमाईँलाई खोजे आँखाले।र भेट्टाए पनि ।नदीतर्फ फर्किएर बालुवामा केही केरिरहेका हातलाई हेरिरहेका आँखालाई पछि छाडेर उडिरहेका केशलाई मेरा आँखाले केही निमेष नियालेर अघि बढे।नजिकै पुगेर म पनि केही केरेँ बालुवामा।पाँच मिनेट भैसक्दा पनि उसले कतै हेरिन।मलाई देखिन।कति मग्न छे यो आइमाई बालुवामा केर्न।मैले देखिरहेको छु उसले कोतरिरहेकी छ र मेटिरहेकी छ ।कुनै निश्चित आकारको कुनै चित्र बनेको छैन ।मात्र कोतरिरहेकी छ,मेटिरहेकी छ।मेटिरहेकी छ,कोतरिरहेकी छ।
नलागेको खोकी जबर्जस्ती खोकेर उसको ध्यान भंग गरिदिन्छु ।ऊ मलाई हेरेर हाँस्छे।ऊ हाँसेर मलाई हेर्छे।
कति बेला आइपुग्नु भो ?-एउटा औपचारिकता निभाउछे।म अझै ठूलो औपचारिकता मुखबाट जबर्जस्ती घचेट्छु-भर्खरै !
नंबर हराएको रहेनछ।
-अँँ,हराएको रहेनछ।
एककल फोनको भरमा आशा थियो म आउछु भन्ने ?
-बेरोजगार मान्छे,आउनुहुन्न भन्ने कुरामा विश्वास हुन सकिनँ।र आशा रह्यो आउनुहुन्छ भन्ने।
बेरोजगार शब्द गोटीवाला जुत्ता लगाएर मेरो छातीमा केही पटक दगुरेर निस्कियो।सत्य कुरा हो,म बेरोजगार हूँ।र नछुनु पर्ने बेरोजगार शब्दले ।र पनि छोयो।यस्तै के के सोचेर बालुवामा नङले कोतरिरहेछु म।अनायासै 'ब' लेखिन्छ।म बिभक्ती लेख्न खोजिरहेको हैन ।तर 'ब' लेखियो।ऊ हेरिरहेकी छ ।के सोचिहोला ? म झटपट केही लेख्न आँट्छु ।त्यो भन्दा अघि ऊ बोल्छे- बेरोजगार लेख्न थाल्नु भा हो ?
एक पटक जोडले हाँस्छे।नदीको पानी पनि जोडले बग्न थाल्छ।म एक डिकामै लेखिदिन्छु- बेकारछप्रेम।
ऊ फेरि हाँस्छे।भन्छे -हजुरलाई सत्य कुरा पनि लेख्न आउँदो रहेछ त ।
-के लेखेँ र सत्य कुरा ?
-बेकार छ प्रेम।
हामी दुबै हाँस्छौँ।म उसलाई जिस्क्याउने क्रममा भन्छु-म पसल खोल्दै छु नि।सधैँ बेरोजगार कति बस्नु।
ऊ अर्कै आँखाले हेर्छे ।मैले बेरोजगार शब्दमा जोड दिएको कुरा पनि थाहा पाउछे ।
अनि सोध्छे-के को पसल ?
म बोल्छु-चुरोटको पसल खोलूँजस्तो लागि रहेछ।
अनि जबर्जस्ती हाँसिदिन्छु ।
ऊ पनि भन्छे-लागिरहेछ म पनि चिया पसल खोलूँ ।
समय मौन रहेर पनि नदीजस्तो बगेर जान्छ ।माथिबाट नदीमा तैरिदै डुब्दै गरेर आएको एउटा औषधिको सिसी तलतिर लाग्छ।लामो मौनता नटुङ्गिएपछि म मोबाइल निकाल्छु ।ऊ चितुवाले मृग लखेटेजस्तो मलाई कल्पनामा दौडाउछे।र आफै थाक्छे ।अनि मेरो हातबाट मोबाइल भनौँ खोसेर नै भन्छे-फोटा हेरूँ न।
म भन्छु-हजुरका फोटा छैनन् क्यारे ,नहेरे हुन्छ।
ऊ ग्यालेरीमा पुगेर फोटा निकालिसकी।
फोटाहरू
नारायणी पुल-
सम्बन्ध जोड्न बनाइएका हुन् रे पुल।ती बीचमा पुगेका मान्छे सम्बन्ध तोडेर पारी जाँदैछन्।
सुन्धारा-
धरहरा यहीनिर थियो रे।अहिले खत मात्रै बाँकी छ।दुखाइ नभए खतको पनि याद नहुँदो रहेछ।
न्यू रोड -
नाम नयाँ राखेर सधैँ पुरानो गेटले स्वागत गर्छ।शिशिर बोकेका प्रेमिल पाइलाहरू बसन्तपुरतिर लिम्किन्छन् यहीँबाट।बर्खा बोकेर फर्किन्छन् यहीबाट भत्किएर,पुराना भएर।मन्दिरजस्तै।
गोरखा प्रकाशन-
बर्षौँदेखि रङ्गिन सपनाका बिज्ञापन छापेर, नतिजा छापेर पनि आजसम्म सादा नै रहेर उभिदैछ।
बसन्तपुर-
(आगन)
अचेल त यहाँ परेवा पनि छैनन्-एउटा अर्ग्यानिक मुखोच्चारित वाक्य।परेवाका नङ्ग्राले लेखेका गीतहरू क्रमशः कुल्चिदैछन् उसका र मेरा पाइतलाले।कयौँ टाउकाहरू हावामा यताउता फर्किरहेछन् ।ठिक दोब्बर खुट्टाहरू दायाँबायाँ चलिरहेछन्।
( हाइब्रेट मन्दिर)
भर्खर दुर्घटनामा परेर,काखीमा बैसाखी च्यापेर उभिएर स्यालको आवाजले ससंकित पोथी माउ कुखुराजस्तो शिर घुमाएर चारैतिर हेरिरहेछन्।
(ससाना मन्दिर)
भर्खर बाटोमा लडेर रुँदारुँदै दुखाइ बिर्सेजस्तो ,दुख्दादुख्दै रुन बिर्सिएजस्तो घरि घाउ हेर्छन् ,घरि बाटोमा हिड्नेलाई हेर्छन् ।एउटै आशा बाँकी छ, कसैले मुसारिदियोस् घाउ,भनिदियोस्-मेलो बाबुलाई कल्ले यत्तो गलेको ?पाइया गल्ने है भोsssलि !हिँड घर जाम् !झि भएछ !
(एकजोडा प्रेमीहरू)
मन्दिरको काखमा बसेर ,आफ्नो कुइनाले अर्काको कुइनामा हान्दै ,कपाल तान्दै रोकिदै बोलिरहेछन् -हेर त भत्किएर कति कुरुप भएछन् मन्दिरहरू !
-कुरुप भएकी नयाँ भए ? भत्किनु पनि त नयाँ हुनु हो।भत्किए पनि हेर्न आउनेको कमी छैन क्यारे !
फेरि भावुक पारामा प्रेमी बोल्छ-भत्किनेलाई कसैले सम्झिदैनन् ,भत्काउनेलाई सबैले सम्झिन्छन्।जस्तो-भूकम्प- भन्नै आँटेको हुन्छ ।
त्यो भन्दाअघि हल्का हाँसेर प्रेमिका बोल्छे-जस्तै म ।तिमी मलाई सम्झिरहन्छौ है।
त्यसपछि मुख बोल्दैनन् ,आँखा मात्रै बोल्छन्।
(हाम्रो क्याफे)
धेरैजसो हामी भएर भित्र पस्छन् ,बर्खा बनेर बस्छन् ,म भएर निस्कन्छन्।
म प्रत्येक फोटाको भाष्य गरिरहेको छु ।ऊ घोरिएर हेरिरहेकी छ फोटा ।मलाई क्रमशः डरले आक्रमण गरिरहेछ ।नभन्दै उसले मोबाइलको स्क्रिनमा एउटा जोडी सेल्फी निकाल्छे ।म केही बोल्दिनँ ,उसले केही सोध्दिनँ ।एकपटक मेरो मुखमा हेर्छे।म पुरै निलो भैसकेको छु ।एकछिनमा ग्यालेरी अफ गरेर बोल्छे ऊ- ला ! सात बजिसकेछ।अब जानु पर्छ ।
मोबाइल मलाई दिँदै
-आज म आउन्न चुरोट प्युन।हजुर आउनुहुन्छ चिया प्युन ?
म बोल्छु - खै !
हामी किनारबाट रोडतिर निस्किरहेछौँ ।टक्क अडिएर ऊ सोध्छे-सेल्फीमा हजुरसँग हाँसेकी मान्छे दिलकटर हो?
मसँग उत्तर छैन ।अगाडि बाटो छ ।हामी सरासर अघि बढ्छौँ।
Comments
Post a Comment