Four Gajal - Char Gajal



बगरले नदीलाई गाली गर्यो असर बड्दै गयो।
पिरले नदी सुक्दै गयो तर बगर बढ्दै गयो।
जब सुस्त सुस्त मिलन पुग्यो चरमोत्कर्षमा,
साथमा सुस्त सुस्त बिछोडिने डर बढ्दै गयो।
मेरा याद यसकारणले कम आयात भए त्यता,
दिनदिन तिम्रो दिलमा राजश्व कर बढ्दै गयो।
प्यारी,यो सहरमा निशुल्क हराउन मात्रै पाइन्छ ,
त्यसैले तिम्रो मान्छेको बेखबर बढ्दै गयो।

-------------------------


अफिसको मेचमाथिको पेपर वेट्झै थियो होला
कहाँ सोच्थ्यो पन्नाको पखेटा च्यापियो होला
शकुन्ते'ले हिजै औँठी महङ्गो मूल्यमा बेचिन् ,
उता दुष्यन्तले के ती कहानी बिर्सियो होला ?
जमाना द्रोणाचार्यको गला रेट्ने भएको ,
यहाँ कुन मूर्खले औँला कटाएरै दियो होला ?
हिजो भिडभाड भएको थ्यो छायो आज सन्नाटा,
आफू रङ्गशाला हूँ नयाँ खेल चाहियो होला।
यहाँ को नाच्न आएनन् ? पुगे खुट्टा गुमाएका ,
सोच्थेँ नेत्र मेरो मञ्चमा नै राखियो होला।

 -------------------------

भाग्यले पनि धेरै धेरै नमज्जाले ठगेर गयो।
चाल्नोमा अडिएको दूध कुँडेबाट उम्लेर गयो।
दिल कपडाजस्तै च्यातेर मात्रै कहाँ पुग्यो ?
फेरि फर्किएर आयो पोछा बनाएर गयो।
आज फेरि तासका पत्रजस्तै छरियो जिन्दगी ,
हार्नेले फ्याँकेर गयो,जित्नेले पनि फ्याँकेर गयो।
यतिबेलासम्म सङ्लो पनि भयो होला पानी ,
उसले 'धमिलो रै ' भन्यो उतिबेलै फर्केर गयो।
किन्नेले किन्न नसकेर फ्याँक्यो बेच्नेले नबिकेर,
यसरी यौटा महङ्गो बस्तु मूल्यहीन बनेर गयो।

--------------


गरेजस्तो लाग्दैन कुनै त्यस्तो सानो कसुर पनि।
ठूलो सजाय दियौ,नजिक भयौ भयौ दूर पनि
सानो पानीले पो चिरिएका खेतका खत मेट्दथ्यो,
बाढी आयो अनि बगाइदियो खेतको सिन्दुर पनि।
बरु भन्नुस् के लक्ष्य राखेर पढाउनुन्छ हामीलाई ?
लक्ष्य के तिम्रो?सधैँ सोध्नुहुन्छ यार हजुर पनि।
बिर्सिने प्रयास गरिनौ भने भन्न सक्दिनँ ,
प्रयास गर्यौ भने मलाई सम्झिन्छौ जरुर पनि।

Comments

Popular posts from this blog

-खुसी अन गरौँ

एकयात्रा : अन्त्य एक अादर्शको

दिदी ! धेरै माया छ तँलाई । फोन उठा है ...