Three Gajal, Tin Gajal
सुनाऊ भन्छौ,अाखिर गुनासो कसलाई के को छैन?
एउटा घाउ छ जो हजार मुस्कानले पुरिएको छैन।
यो सत्य हो दुनियाँमा सबैका अाँखा फुटेका छन्
फेरि यो झुट पनि त हुनसक्छ कसैले देखेको छैन।
जल्न पनि ऊ अाफ्नै क्षमताले जलेको बाती हो,
पालाको तेल खिच्न कसैको साथ मागेको छैन।
ढोका अापसमा छुट्टिदा कोठाको मुहार उज्यालियो,
यो दुनियाँ हो यार कसको दुखमा को हाँसेको छैन?
त्यही साइकलको हालतमा पुगिसकेछ हाम्रो प्रेम,
जसको अरु सबै बज्छन् घन्टी मात्रै बजेको छैन।
----------------------------------------------
छन् नेत्र यी पुकार्ने बाँकी अरू थिएनन् ।
चाहेर आँसु झार्ने बाँकी अरू थिएनन् ।
विश्वास थियो टुटायौ,केही म गर्नु पर्थ्यो,
माया सिवाय मार्ने बाँकी अरू थिएनन् ।
अन्याय भो उसैमा जसको सबै जगतमा ,
भगवान् इतर गुहार्ने बाँकी अरू थिएनन्।
पोल्यो त्यही दियोले जसको बतास म छेक्थेँ,
आफ्नै थियो पछार्ने बाँकी अरू थिएनन्।
भेट्थेँ निदाउँदा जो दुस्मन भयो त्यही नै,
निन्द्रा मेरो बिगार्ने बाँकी अरू थिएनन्।
-----------------------------------------
म त बगर हुँ मेरो नजिकैबाट नदी जान्छ।
प्रत्येक दिन मृत्युले उधारोमा दिएको हो,
हरदिन मृत्युको बिरुद्ध नारावाजी जान्छ।
क्षितिजको उतापट्टि को बसेको होला?
तारा उतै खस्छन् र उतै चाँदनी जान्छ।
पग्लिदैमा सबै कुरा नसकिदा रहेछन्,
मेरो अाँखा पनि त हररात पग्ली जान्छ।
मालवाहक ट्रक जस्तो छ तिम्रो याद,
पीडा लिएर अाँउछ,जाँदा खाली जान्छ।
©कृष्णप्रसाद अर्याल

Comments
Post a Comment