Manobhab - Aryal Krishna, must read it
अाकाशमा लटरम्म तारा फलेको रात कोठामा निसास्सिरहेछु म।खाटबाट उठेर झ्यालनिर पुग्छु ,झ्यालको छाती च्यातेर सडकतिर हेर्छु।पल्लो घरको चिमको उज्यालो थोरै कोठामा छिर्छ ।फेरि खाटतिरै फर्किन्छु।जसको कुनै अर्थ छैन,बिना अर्थ ,बिना प्रयोजन पनि धेरै कुरा गरिदो रहेछ।कोठाको चिम जलाउन अल्छि लागेको छ।खाना खाने कुनै सुरसार छैन ,फेरि चामल सकिएको पनि त अस्ति हो।घर फोन गर्नु पर्ने हो ,आमैलाई दुख लाग्दो हो फोन नगर्दा,फेरि मोबाइल पनि कता परेछ।
कोठाको मुखमा ताल्चा लगाएर बार्दलीमा उभिन्छु।आकाश ,नौलाख तारा। सायद तारामा पनि घटबढ भैसक्यो होला। दुई कक्षामा पढ्दा हो क्यारे नौ लाख भएको।ठिस सर ।कतै पढाएनन् ताराहरूको मृत्युदर ,जन्मदर।भर्खरै एउटा तारा झर्छ उतातिर।यसले अौसत मृत्युदरको जिन्दगी बाँच्यो होला कि नाइँ? धेरैपटक देखेको छु तारा झरेको र झरिरहन्छन्।कुनै प्रेमीले दुईचार थान तारा टिपेर बगलीमा पनि राखिदियो होला प्रेमिकाको।सबै मजस्ता ल्वाँठ प्रेमी पनि त कहाँ हुन्छन् र!हुन सक्छ अब आकाशमा आठ लाख तारा बाँकी छन् ।फेरि आठ लाख मध्ये बालबालिका कति होलान् ? जवान कति होलान् ?कति बृद्ध होलान् ?ह्या जति भए होऊन् ।दिमाग खराब !
म सडकमा पुगिसकेछु।ढोकाका कापकापबाट थोरै उज्यालो सडकमा अाएर सुतेको छ।खुट्टामा असजिलो महसुस हुन्छ।हेर्छु । ज्या !चप्पल उल्टो लगाएको रहेछु।भैराखोस् उल्टो।चप्पल बदल्ने मन भएन।सडकका पेटीहरूमा अँध्यारोले बिस्तारा लगाइसकेछ ।एकछिनमा सुत्ला पनि।बेला कुबेला तिर्खा लाग्यो ।पानी खान पाए हुने।चिया खान पाए पनि हुने।खल्ती छाम्छु ।दाइने खल्ती खाली रैछ ।देब्रे पनि खाली रै छ ।पछाडीको खल्ती ?त्यो पनि खाली रै छ ।थुक्क !अलिधेरै खल्ती भएको भए ?खल्ती खोतल्दा खोतल्दै उज्यालो होस् ,रात सकियोस् ।यो पाइन्टभरि खल्ती नै खल्ती होस् ,खोतल्दा खोतल्दा जिन्दगी जाओस् ।रित्तो खल्ती,खाली ,शून्य,आकाश।फेरि आठ लाख तारा,सडक,पानी प्यास,खल्ती ,रित्तो ,शून्य,आकाश।फेरि त्यही पुरानै कथा ।अनवस्था।
माथि कमिज लगाएको रहेछु।यसमा पनि एउटा खल्ती छ ।के त्यहाँ पैसा होला त ? खोतल्छु त्यो पनि ।रहेछ पचासको नोट।अब फेरि प्यास मेटिइसकेछ ।थुक्क ! भैजाओस् ।चिया नखाई छोड्दिनँ।
पुरानो होटल ।भनौँ गइराख्ने।दिनेशले लगेको मलाई पहिलोपटक ।भनेको थियो-ल तँलाई आज म लिफ्ट चढाउछु।चढायो पनि।चढेँ पनि।अनि त्यसपछि कति गएँ याद छैन।चार महिना अघि ऊ पनि गएकी थिई ।नास्ता खाएपछि म्यापकिन पेपरमा ओठ टाँसेर छोडी।भन्दै थी -वेटर खुसी हुन्छन्।
म उति बेलैँ रिसाएँ।भनेँ-सबैँ तँ जस्तै हुन्छन् ?वेटरले नदेखेर अर्को ग्राहकले देखेर घिनायो भनेँ ?
मलाई खास पिर त ओठ छोडेकोमा लागेको थियो।
संयोगवस अथवा बियोगवस त्यसपछि सधैँ म एक्लै जान थालेँ त्यो होटलमा।जस्तै- आज।मैले उसलाई मनमनै धोकेवाजको संज्ञा दिएँ।जब 3 महिना अघि कुनै युवतीले मलाई धोका दिएको आरोप लगाईन् ।म झस्किएँ।यो शब्द सस्तो रैछ ।जसले जसलाई दिन पनि सक्ने रैछन्।मलाई त्यसपछि धोका ढोकाजस्तो लाग्यो।कोही बाहिर निस्कने कोही भित्र जाने।त्यही सिलसिलामा म ढोकामा चाँबी झुन्ड्याएर रातबिरात सडकतिर हिडिरहेछु आज।
तीन महिना अघिको एक वार्तालाप ।
हेर ,मेरो परिक्षा आएकाले कम बोलौँ भनेको हूँ ।तिमीले के के बुझ्यौ ।बोल्नै छोड्यौ ।
-आज आएर मान्छे चिनेँ।हजुरले यस्तो गर्नुन्छ जस्तो लाग्या थेन ।
के चैँ गरेँ मैले ?
-धोका दिनु भयो मलाई।कि पहिल्यै नजिक नहुनु पर्थ्यो।
सरी ! नजिक हुनु गल्ती थियो।पछि रुन नपरोस् भनेर ...
(मेरो कुरा बिचमै काटेर)
-ऐले चैँ म हाँसे जस्तो लाग्छ ?
(पार्श्वध्वनी-सुँक्क ,सुँक्क)
अहिले भन्दा ज्यादा धेरै रुनुपर्छ पछि ।त्यसैले ...
-अहिले चैँ कम रोइजस्तो लाग्छ ? कि ऐले र पछिको आँशु फरक हुन्छ ?ऐलेको आँसु गुलियो ,पछिको नुनिलो हुने हो ?
(पार्श्वध्वनि यथावत-सुँक्क ,सुँक्क )
मलाई यसपछि बोल्नै आएन।बोल्नै सकिनँ ।लाग्यो-ज्याद्रै ठूलो धोका दिएछु क्यारे !तर त्यति धेरै भएजस्तो लाग्थेन ।जे सुकै भैजाओस्।यसरी सडकमा हिड्नु परेको छ आफू।
अँ, मैले चिया खाने निर्णय गरेर होटलमा पुगेँ।वेटरसँग अपरिचित चिन्जान छ मेरो।हाम्रो बार्तालाप ओठ ओठको मात्रै हुन्छ ।एकपटक हेरेर मुसुक्क ।सक्यो वार्तालाप।
टेवुल अन्त कतै खाली छैन।एउटा छ जहाँ एउटी आइमाईले चुरोट पिइरहेकी छे।आखिर चिया खानु जो छ यहाँ मलाई।अगाडि पुगेर सोध्छु म-के म बस्न सक्छु यहाँ ?
-तँपाईँ बस्न सक्नु हुन्छ सक्नु हुन्न मलाई के थाहा !
अहो !बुलेट त राम्रै पड्कियो।म बसिसकेको थिएँ।किन ब्यर्थै औपचारिकता निभाएछु जस्तो लाग्यो।सायद ऊ कुनै गहिरो चिन्तनमा थिई ।मैले ब्युँझाएँ।म तल हेरेर बस्छु।अहो !चप्पल अझै उल्टो नै रैछन् ।हतपत फेरवदल गर्छु।
नहेरेजस्तो गरेर एकपटक हेरेपछि लाग्यो आइमाई नभएर ऊ युवती आइमाई हो।
पानी हल्लिरहेको समुद्रको बीच भागमा पानी जहाज भएजस्तो चञ्चल अनुहारमा अस्वभाविक उठेको नाक।
कुनै निर्जन जङ्गलको बीचमा अग्लो पहाड र दुइतिर एकएक कुवाभएजस्तो आँखा।कालाजस्तै ओठ।एकमुठीको गर्दन।बरको हाँगाबाट बटारिदै तल झरेका जराजस्तो घुम्रिएको कपाल।भर्खर कुनै सुचना लेख्न चुना पोतेर राखेको भित्ताजस्तो निधार।दुब्ली।अघि नै बुलेटझैं पड्किदा लागेको थियो -यो मरिच हो।त्यो पनि अाफ्नै पिरले चाउरिएकी।समग्रमा नराम्री भन्न नमिल्ने छे।
चिया आइसकेछ।थोरै तर लागिसकेछ।प्युँदैछु म।बेला बेला उसले पिएको चुरोटको धुँवा मेरो नाकतिर पनि आइरहेछ।भर्खर उसले हेरी।ब्याङ्ग्य भाव देखियो आँखामा।मनमनै सोचेकी होली-आठदश ओटा टेवलमाथिका पच्चिस तीस गिलासमध्यमा एउटा चियाको गिलास छ जुन मेरै अघि।
पैसा तिरेपछि म बाहिरिएँ।गेटनिर पुगेपछि फेरि एकमेसो अल्झिएँ म-अब कता जाने ?
त्यतिकैमा चुरोटवाली पनि निक्लिई ।ऊ नरोकि सरासर दाँयापट्टि लागि।उसलाई मेरा आँखाले पिछा गर्ने कुनै प्रयास गरेनन्।म कोठातिर फर्किएँ।बाटोमा सोचें- ऊसँग बोलेको भए हुने।कम्तिमा नाम चाहिँ सोध्नु पर्ने। हुन त मरिच हो,के चाख्नु।पिरो भैहाल्छ।
म कोठामा पुगें।
खै! कति बज्यो।मसँग समय थियो,लगभग रात मात्रै पनि अाधा त हुँदो हो तर घडी थिएन ।
Comments
Post a Comment