Post of Hijo Rati
त,कुरा हिजो रातीको हो।
आकाशबाट एक कप्टेरो सेतो जून चुहिएर कोठा बाहिरको बार्दलीमा समेत छिटा उफ्रेका थिए।
म त्यहीनिर थिएँ।राजु आउँछ,भन्छ- चार दिन भात नखाएर मान्छे मर्दो रहेनछ।
- हो र ? कसरी थाहा पाइस् त ?
- तँ ज्युदै छस् त।तँलाई खाना खान पर्दैन?दुईदुई महिना कोही कसैको किरिया बार्दैनन् बुझिस्।जाने गैहाले त।
हँ !गाली नै पो गर्यो त।मेरो भलो चिताउनेको सूचिमा थपिदिऊँ क्यारे यसलाई पनि।
भनेँ-ह्या !हैन यार त्यस्तो।
"मेरो नजिक उसको यादको नदी छ।नजिकबाटै बग्छ।प्यास लागेको सम्झाइरहन्छ तर पानी दिदैन।म बगर हूँ।एकपटक आकाश हेर्छु।"
मलाई भोक छैन।सेतो जून नपाकेको आधा रोटीजस्तो देखिन्छ।पानी पर्लाजस्तो गरेको रात चिसो छ।मुटु काँप्छ।पानी पर्न अप्ठ्यारो मानिरहेछ।आँखाबाट पनि।चिसो हावा चल्छ।मनमा पनि।
"ऊभित्र देवकोटा छैन। मेरो काँपिरहेको मुटु देखेर उसले मायाको कोट पहिराइदिने छैन।तर म काँपिरहेछु।
ऊभित्र मेरानिम्ति हृदयको दुर्गम खोँच पनि पग्लिएको छैन जो चर्किएको छातीका चरचरमा बगेर हर चर भरिदेओस्।"
"बरु मभित्र जमिरहेछ एउटा तलाउ।सोचिरहेछु कहिले आउलान् मन्जुश्री खुँडा लिएर ?कहिले काट्लान् हृदयको भार चोभार?कहिले बन्ला यो तलाउ राजधानी ?"
अँ राजु गइसकेछ।जून टाढा पुगिसकेछ।पुगोस्।
हो त मेरो नजिकै एउटा जून थ्यो।टाढा पुगिसकेछ।अचेल उदाएको पनि देख्दिनँ म।आकाश पनि त फेरियो।
***
बिहान भयो।
त ,रात पनि फेरियो।अब एकछिनमा घाम लाग्ला।
फेरि आयो राजु।
सायद टोलाइरहेको देख्यो।
सोध्छ-के भो फेरि ?
-म बगर हुनुभन्दा पहिले मेरैमाथिबाट नदी बग्थ्यो।सम्झिँदा खुब मजा र नमजा आउँदो रहेछ।
ऊ बोल्यो- तेरो घैँटामा घाम लागेन।हिजो राती त्यति सम्झाएर ...।
घामले आँपको रुखसम्म कुल्चिसकेछ।
मनको बार्दलीमा पनि कुल्चिदिए घामले ?

Comments
Post a Comment