अस्ति।
अबेर छतबाट कोठामा अाइसकेपछि जबर्जस्ती सुत्ने प्रयास गर्ने प्रक्रियाको पहिलो चरण पार गर्ने सिलसिलामा बिस्तारामा पल्टिएँ म।एकछिन घुमिरहेको पंखा हेराइको क्रममा अनुभव भयो कि - मलाई केही बिझाइरहेछ टाउकोमा।अनि सिरानी पल्टाएर सुतें।फेरि केही क्षणमा टाउको पछाडिपट्टिको भागमा केही अफ्ठेरो महसुस भो।सिरानी छामें।केही थिएन।फेरि सिरानीको भाग चेन्जिएर सुतें।एकछिनपछि उसै गरेर अफ्ठेरो महसुुस भो,केही बिझाएजस्तो भो।अब मेरो रिस निद्राबाट ब्युझिसकेको थियोे।म जुरुक्क उठें।सिरानी समातेर ढोकाको कुनामा फ्याकें- जहाँ फोहोर फालिन्छ धेरैजसो।
साथी ब्युझियो।म निदाएको बहाना गरें।म त्यत्तिकै सुतें र निदाएं पनि कुनै बेला।
म मेरो रिसको खतरा फ्यान हुँ।खुब मन पर्छ मलाई मेरो रिस।भावी परिणामलाई छुट्टै राखेर हेर्ने हो भने संसारमा रिसाउनुमा जति मजा अरु कुनै कुरामा भेटिदैन।फेरि मेरो रिस द्वन्द्वात्मक भौतिकवादी हो।मेरो रिसमा तुरुन्तै द्वन्द्वात्मक भौतिकवाद हावी भैहाल्छ।र भत्काउने काम सुरु भैहाल्छ।
अल्लि लामै छ भत्काउन पर्नेको सुची ,
पर्खालहरु छन् तिम्रो बंगारा पनि छ।
म सोंच्छु- हरचिज मजाले गर्नु पर्छ।
रिसाउन पनि मजाले रिसाउनु पर्छ।
त्यो रिसाइ के रिसाइ जसले कारागारसम्म पुर्याउदैन।
त्यो हाँसो के हाँसो जसले होस्टेल इन्चार्जलाई कोठासम्म अाउन बाध्य पार्दैन।
त्यो अाँसु के अाँसु जसले अाँखामा लगाएको पट्टी बगाउदैन।
म रिसाइसकेपछि
मोबाइलले अाफुलाई अशक्त भेट्दछ।
इयरफोनले अाफूलाई टुक्रा टुक्रामा भेट्छ।
किताबले अाफुलाई पन्नामा पाउँदछ।
हिजो बिहान-
जब म ब्युझिएर नुहाउन बाथरुम पुगें।नुहाएर टाउको मिच्दै गर्दा थाहा भयो कि मेरो टुप्पीमा एउटा फुर्तिलो सिखा पारिएको छ। र रातभर म सुतिरहदा त्यहीँ सिखा बिझाइरहेछ।म अाफैसंग हाँसें।म हुस्सु छु।
अाज -
हुस्सु लागेर अध्यारिएको मनको खोचमा कता कता तिम्रा सुनौला अाँखा देखिरहेछु।रातीमा बत्ती अफ गरिसकेको कोठाजस्तो मनमा तिमी इन्डिकेटरझैं रातो बोलिरहेकी छौ।
रातो- तिम्रो ओठ।
रातो-खतराको संकेत।
रातो-वीरताको संकेत।
रातो- प्रेमको संकेत।
रातो-जे पनि हुन सक्छ।
मलाई रातो- परीक्षा हलमा रातो पेन बोकेर अाउने ल्वाँठलाई देख्दा भन्दा बढी डर लाग्छ।
हरेक पटक मन दुख्दा म तिमीलाई सिरानी र अाफूलाई शीर
सम्झिन्छु।हरेक रात रिसको झोकमा म तिमीलाई ढोकानिर मिल्काउछु।
हरेक पटक मन दुख्दा म अाफूलाई निसाना र तिमीलाई तीर सम्झिन्छु।हरेक रात म अाफूलाई घाइते भेट्दछु।
कुनै दिन-
बिहानै अाँसुले नुहाउदै गर्दा थाहा पाउने छु कि दोष सिरानीमा थिएन,शीरमा थियो।तिमीमा थिएन,ममा थियो।म अाफैले सिखामा पारेको गाठो बिझाइरहेको थियो।म अाफैले मनमा पारेको गाठो बिझाइरहेको थियोे।
तर त्यो दिनदेखि मसँग सिरानी हुनेछैन।
र त्यो दिनदेखि तिमीसँग रिसानी हुनेछैन।
Comments
Post a Comment