मुक्तकहरु(?)
१>
हो यी कुरा हर प्रहर बिचार गर्नु छ ।
बनाएर बालुवाको घर बिचार गर्नु छ ।
अरे!त्यो गुलाब त फेरि सिसा बनेछ,
नपग्लेला त अब पत्थर? बिचार गर्नु छ ।
२>
पोलेको छ छाती भतभत लेखेकी थियौँ ।
भएको छ हाँसो जफत लेखेकी थियौँ।
खै!किन हो मुखले बिदाई भन्यौ,
तर आँखामा त स्वागत लेखेकी थियौँ ।
३>
कहिले जिस्क्याएझैँ कहिले चिमोटे जस्तै लाग्छ ।
छातीमा करौतीले खिले चिमोटे जस्तै लाग्छ ।
मैले काँडा मन पराउनुको एउटै कारण छ ,
काँडाले घोचे पनि तिमीले चिमोटे जस्तै लाग्छ ।
४>
आफैलाई नोक्सान थियो आफ्नै सम्झेर ।
जस्तै कि पुतलीले दियो आफ्नै सम्झेर ।
आज बिर्सनू भन्ने आदेश आएको छ ,
जसलाई दिलमा राखियो आफ्नै सम्झेर ।
५>
नसोच दिलमा जाला सियो बनेर ।
चढ्दिन मनका उकाला सियो बनेर ।
घोचेको सम्झियौ अरु सबै बिर्सियौ ,
उनिदिएको थिएं माला सियो बनेर ।
-अर्याल कृष्ण
Comments
Post a Comment