विभक्ती मेरो कोही होइन

...।
एकचोक्टा जून अाकाशमा उक्लिएपछि सुस्केराको छेउछाउबाट के के सोच्न थालेछु मैले।मान्छे कसरी अपरिचित बन्न सक्छ? कसरी सक्छ भागेर हिंड्न? कसरी सक्छ लुकेर हिंड्न?भागेर हिंडेकाहरूलाई पाइतलाले धोका दिए हुन्थ्यो।हुन त म पनि भागिरहेछु।सत्यताबाट,दुखबाट,पीडाबाट। अाखिर भाग्नु पर्ने कारण के थियो ? भागिहिंड्दा हिंड्दै मलाई मैबाट भाग्ने बानी परिसकेछ।मैसंग लुक्ने बानी परिसकेछ।यदि कुनै समय कुनै गल्लीमा म अाफैसँग जम्का भेट भएँ भने के गरौँला? कसरी बनौंला अपरिचितजस्तो? कसरी बनौंला अोस्यानको शीतजस्तो ? सत्य सत्य त्यो समयमा म केवल भयभीत हुनेछु।
विभक्ती मेरो कोही होइन।र यो हो कि म सत्य बोलिरहेको छु।दिउँसोको घटना केवल घटनाजस्तै लागेको छ मलाई।सानो घटना।मलाई लाग्छ ऊ विभक्ती नै हो तर उसका अाँखाले अस्विकार गरिरहेका थिए।मुखले त ठाडै अस्विकार गरे।तर म हार्ने पक्षमा छैन।कोही मान्छे सजिलै हराउनु अन्याय हो।ऊ त्यसरी हराउन पाउने छैन।म फेरि कुनै समय भेट्टाउनेछु उसलाई।पाखुरामै समातेर भन्नेछु- हिंड्नुहोस्,चिया खान जाअौं।र उसको कुनै प्रतिकृया सुन्ने छैन म।जसरी पनि चियाको कपमुनि रहेको टेवलनजिकैको कुर्सीमा बसाउनेछु।र धेरै प्रश्न गर्नेछु।हराउनुको प्रश्न गर्नेछु,फेरि भेटिनुको प्रश्न पनि सोध्नेछु।हो म सबै सबै प्रश्न सोध्नेछु।
जिन्दगी मध्यराती नयाँसडकमा हरिभक्त कटुवाल हिंडेजस्तो हिंड्छ।धर्मराउदै,बल्लबल्ल धानिएर।चार गिलास साँझ सकिन्छन्।एउटै गिलास।केवल भरिन्छन्,रित्तिन्छन् तर अर्को पटकमा ती अर्कै गिलास भैसक्छन्।उहीँ भएर पनि फरक देखिन्छन्।यो समय मेरानिम्ति दाह्रीजुँगा अाएजस्तो सजिलोसँग अाएको हैन।यो पिलो अाएकोजस्तो अाएको हो त्यो पनि अफ्ठेरो अंगमा।अव्यवस्थित हुन जतिसक्दो व्यवस्थित तरिकाले लागि परिरहेछु म।कोठाबाट निक्लिनु,सडकमा कता कता जानू अनि फेरि सडकमा नै कताकता जानू र अन्त्यमा सडकमा कता कता जानू लगभग दैनिकी हो।कोही संकास्पद बिभक्ती देखे अनुहारमा एकछिन हेर्नू,नहुनुको कारण थाहा पाउनु ,फेरि कता हेर्नू ,अल्छी लाग्नु।यो छोटो र थोरै समय मसँग धेरै हुनु मेरो विशेषता हो।त्यहीँ समयको दुरुपयोग गरेर कसैलाई सम्झिनु, खोज्नु अर्को विशेषता हो।यी यस्ता विशेषता हुनु मेरो अझै अर्को विशेषता हो।
...।

Comments

Popular posts from this blog

-खुसी अन गरौँ

एकयात्रा : अन्त्य एक अादर्शको

दिदी ! धेरै माया छ तँलाई । फोन उठा है ...