अनुभूति : संक्रान्ति अर्थात् क्रान्ति
यादको चोकमा गएर कहिल्यै देखा परेर त हेर
त्यहाँ सन्नाटाले चर्को आवाजमा कोलाहल मच्चाउँछन्।
एउटा संक्रान्ति जाँदैमा याद पुरानो हुँदैन। बरु प्रत्येक पटक संक्रान्तिले यादको बोटमा पानी हाल्छन्, मलजल गर्छन्।
***
अबेरसम्म डुल्ने होइन नि फेरि!
- हस् के। चाँडै जान्छु कोठामा।
मुस्कुराउँदै अफलाइन भएथेँ म।
पोहोरको मृत भित्तेपात्रोको छातीमा लेखिएको एउटा संक्रान्ति। १०:०६ बजे।
कोलाहल रात।
कुममा
दुवैतिरबाट धक्का मारिरहेछ भीडले। अगाडि दिनेश। पछाडि म। भीडको एक-एक
टुक्रा हामी। भीडमा को थिएन? के थिएन? पूरा देवघाट नशामा थियो। भर्खरै महेश
काव्य यामिनीमा साहित्यपान गरेर लठ्ठिँदै निस्किएका हामी।
त्रिशुलीमाथि
लामो मेरुदण्ड तेर्स्याएर सुतेको पुल नशामा थियो। खुब हल्लिरहेको थियो। तल
बगिरहेको त्रिशुली उस्तै नशामा हिँडिरहेको थियो। मध्यराति नयाँ सडकमा
हरिभक्त कटुवाल हिंडेसरि।
सानो
अँध्यारो छायामा पनि टपक्क जोडिएर पूर्वाभिमुख भएर कन्यादानको समयमा जस्तो
उभिएका एकजोडी तन्नेरी नशामा थिए। युवतीका काखीमुनिबाट अगाडि गएर थोरै
बाङ्गिएर कुन्नि के गरिरहेका युवकका एक थान हात नशामा थिए। छेउको
प्रतीक्षालय गाइरहेको थियो- देऊ-देऊ सानी एक बोतल घरमै पारेको।
हिँडिरहेका,
जवानीको पहिलो किस्ता बाँचिरहेका युवायुवतीले शिरमा रातो बलिरहेका सिङ
लगाएर हिँडिरहेका। कोही-कोही त सिङ लगाएर छिटो-छिटो हिँड्दा अँध्यारोमा सिङ
मात्रै देखिनाले महसुस गर्दा हुन् कि- हान्ने साँढे आइरहेछ उताबाट। यो
लगाउनुको दुई वटा फाइदा टड्कारो देखा परे। प्रथम त आफ्नो मजा छँदै छ,
दोस्रो रहेछ अँध्यारोमा देखियोस् कि- म पनि छु यो भीडमा। अस्तित्वको लडाइँ।
एकछिन
सोचेथेँ मैले, मान्छेको अचेतनमा पशुपन कति रहेछ भनेर। लामालामा नङ पाल्ने
सोख छ, सिङ लगाएर हिँडिरहेछ। लगत्तै मेरो सोचाइको प्रवाहमा नारनले भाँजो
हालेको थियो। अगाडिबाट आइरहेकी, पोलमा बलेको सोलारको झिनो प्रकाशले पनि छुन
लाज मानेर अलिकति मात्रै छुनाले हलुका बलेको मुहार धारण गरेकी, शिरमा सिङ
धारण गर्नाले दुवै सिङमा बलेको रातो प्रकाशले, रङ हाल्नाले अर्कै बनाएको
एकमुठो केशराशिलाई अझै दिव्य र आकर्षक पारिरहेको टाउको बोकेकी एक युवतीलाई
नजिकै पुगेर थोरै झुकेर नारेले भन्छ- नारायणम् गौमाताजी!
लागेको
थियो, नारेले अब राम्रोसँग केही फिटजति उचाइ भएका पादुका ज्यूनार
गरिबक्सिन्छ। तर, त्यस्तो भएन। न त छेउमा रहेको साँढेले हान्ला जस्तो
गर्यो। गौमाता त झन् मुस्कुराएर पो जानुभो।
हुन
त नारन अलिक अग्लो र खाने बेलामा बाउआमाले साथमै राखेर ख्वाए जस्तो छ। हर
कोहीले सीधा आँखाले हेर्न सक्दैनन्। मैले पनि उसको बलियो र अग्लोपनको
छहारीमा बसेर दुई-चार जनासँग निहुँ खोजेको छु। अन्तिममा नारनले झपारेर
पठाइदिएको छ उनीहरूलाई। अनि मैले आफ्नो साहसमा गर्व गरेको छु। एक चक्कर
लगाएपछि मेलाको सचिवालय आएर हाम्रो अगाडि उभिन्छ।
दिनेशले मुस्कुराउँदै भन्छ- एउटी केटीको नाम भन् त।
-किन?
-भन् न भन्।
- मुनरिया।
दिनेश भीडमा हराएथ्यो उतिबेलै।
त्यो
समय त्यस्तै थियो। त्यो मन त्यस्तै थियो। यदि उसले दुई वटा केटीको नाम
भन्न लगाएको भए पनि म उसकै नाम दुई पटक भन्थेँ- मुनरिया, मुनरिया। थर बरु
आफ्नै दिन्थेँ।
ए अँ, मुनरिया!
कुन्नि के प्रसंगमा दिदीले सोध्नुभएथ्यो- उसको नाम के हो नि?
मैले नबुझे जस्तो गरेर भनेथेँ- को ऊ?
दिदीले थोरै स्पष्ट पारेर भन्नुभएथ्यो - त्यो के, जसलाई तँ धेरै सम्झिन्छस्।
- मैले धेरै सम्झिनेको नाम? त्यै दारे त हो नि उसको नाम।
छेउमा
रहेकी दिदीले धेरै सम्झिनेको नाम भन् भन्दा आफ्नो नाम भनेकोले भित्र खुसी
हुँदै र साथमा रिसाउँदै (किनकि मैले दिदीको बोलाउने होइन, जिस्क्याउने नाम
लिएको थिएँ) मेरो कान समातेर भन्नुभएथ्यो- भन्छस् कि एक बित्ता लामो
नकाटेको नान जस्तो बनाइदिम् तेरो कान?
- नाइँ नाइँ, छोड्नु न। भन्छु के।
- छिटो भन्। अनि मात्रै छोड्छु।
- मुनरिया के।
- अनि थर?
- खातुन।
- हँ! खातुन? यो खा तुन, चपा तुन, निल् तुन भन्ने कस्तो जातको थर हो?
मैले
हाँस्दै भनेथेँ- तल्लो भन्दा नि अझ तल्लो जात हो। अझ मुस्लिम हो। कति
नाम्रो नाम-थर है! अझ अन्त्यमा अर्याल पनि जोडेर उच्चारण गर्नु त। कस्तो
गज्जप सुहाउँछ!
अनि मैले उच्चारण गरेथेँ- मुनरिया खातुन अर्याल।
अनि मैले उच्चारण गरेथेँ- मुनरिया खातुन अर्याल।
दिदीले भन्नुभएथ्यो- आमैलाई पानी चल्दैन यस्ताले त। अर्की खोज्।
मैले झटपट भनेथेँ- ऊ नभए याँ आफ्नो सास चल्दैन, हजुर पानीको कुरार्नुन्च।
दिनेश नाम सुनेर गएको थियो अघि।
खै!
कताबाट दिनेश आएर मुस्कुराउँदै भनेथ्यो- अब कान खोलेर सुन्। त्यही समय
सचिवालयको मान्छेले ठूलो स्वरमा भनिरहेको थियो- मुनरिया अर्यालज्यू, तपाईं
जहाँ हुनुहुन्छ तुरुन्तै घाटचोकको स्वर्गलोक द्वारमा पुग्नुहोला। त्यहाँ
तपाईंका श्रीमान् कृष्णप्रसाद अर्यालले पर्खिरहनुभएको छ।
सचिवालयको मान्छेलाई फेरि गएर भनेथ्यो दिनेशले- अझै केही पटक दोहोराउनुस् न!
फेरि
उस्तै गरेर सालका रुखमा झुन्ड्याइएका चारै दिशालाई आक्रान्त पारेर आवाज
गरिरहेका स्पिकरबाट उही सूचनाले कोलाहलपूर्ण वातावरणलाई चिर्ने सक्दो
प्रयास गरिरहेको थियो। लाग्यो- मानौं यो आवाज हावाले धकेल्नाले सुमेरु
पर्वतमा ठोक्किएर प्रतिध्वनित भएकाले संसारका हरेक खोंच, खोल्सा हुँदै समथर
भूभाग सारा दगुरेर थाक्दो अवस्थामा म उभिएकै भूगोलको दुई पाइला जमिनमाथि
कतै उभिएकी तिमीलाई कुनै नयाँ कुरा आमालाई सुनाउन दगुरेर आएको बालक
जोडजोडले फेरिरहेको सासले गर्दा रोकिँदै तर छिटो-छिटो सूचना सुनाइरहेको
थियो र तिमी सुस्त हाँसेर कुन्नि कता हेरिरहेकी छौ।
म
अवाक् थिएँ। मेरो आकाश थाकेर कतै थुचुक्क बसे जस्तो। माथि घुमिरहेको चर्खे
पिङभन्दा अझ बाक्लो गरेर घुमे जस्तो लागिरह्यो। मैले त्यसअघि कहिल्यै
श्रीमानको रुपमा आफूलाई कल्पनामा पनि उतारेको रहेनछु। एकखेप रमाइलो छाए
जस्तो, नमज्जा लागे जस्तो। खै कस्तो-कस्तो!
दिनेशले हात समातेर भनेथ्यो- हिँड्, च्या खान जाम्।
ए मान्छे,
के मैले स्वर्गलोक द्वारमै कुरिरहनुपर्ने हो? त्यसभन्दा अघि हाम्रो भेट नहुने नै हो?
के मैले स्वर्गलोक द्वारमै कुरिरहनुपर्ने हो? त्यसभन्दा अघि हाम्रो भेट नहुने नै हो?
फेरि
यो साल पनि संक्रान्ति आएर गयो। दिनेश आयो। म घाटचोक गेटमा धेरैबेर उभिएँ।
रात बूढो हुँदै गयो। आठौं कप चिया प्युँदै गर्दा मोबाइलमा अलार्म बज्यो।
मलाई फेरि एक पटक ज्ञान भयो- ननिदाए पनि रात सकिन्छ। ननिदाए पनि अलार्मले
भन्छ- ए केटा उठ्। ब्युँझी अब।
यो रातको मन हुँदैन। त्यसैले त मलाई यो अवस्थामा देखेर पनि ढिलो गरेर बूढो हुन्छ।
अस्ति।
२ गते।
चितवन महोत्सव।
२ गते।
चितवन महोत्सव।
खै!
कुन स्टल अगाडि उभिएका थियौं हामी। एक जनाले उभिएर खै केको पर्चा
बाँडिरहेको थियो। आउने-जाने दोहोरै तर्फकाले नै त्यो पर्चा लिएर जान्थे।
मैले पनि एउटा समातेँ। दिनेशले भन्यो-
'मान्छेले
भन्छन् नि शहरका मान्छेको मन हुँदैन। तर, त्यस्तो होइन। हुन्छ मन।
यिनीहरूले पनि मन ऊ त्यो मान्छेले पर्चा बाँडे जस्तो बाँड्छन्। तँ जस्तै
ल्वाँठले मात्र त्यो पर्चा पढ्छन्। अरुले त कतिबेला कहाँ फ्याक्छन् थाहा
हुँदैन। अनि तँ जस्तै ल्वाँठहरू त्यही मन दिनेलाई सम्झिँदै रुँदै गर्छन्।
दिनेलाई त थाहै हुँदैन मन कति जनालाई दिएँ भन्ने पनि।'
मैले
मुनरियालाई सम्झे थेँ त्यो समय। ऊप्रति महँगो लगाव छ मेरो, लगानी छ मेरो।
बालुवामा पानी खन्याएभन्दा महँगो छ लगानी। तर, व्यापार थिएन त्यो।
सुनगाभा पुस्तक पसलको स्टल अगाडि पुगेपछि अडिएका थियौं र सोधेथ्यो दिनेशले- एउटा राम्रो अंग्रेजी उपन्यास कुन छ?
फेरि मतिर फर्किएर भनेथ्यो- बर्थ डेमा गिफ्ट के दिने होला?
- मुटु निकालेर हातमा राख्दे।
- भेजिटेरियन हो यार ऊ।
- ए, उसो भए जंगलतिर लगेर एकछिन चराएस्।
सचिवालय अगाडि आएपछि भनेथ्यो- संक्रान्ति मेलामा झैं गर्ने र?
मलाई मन लागेथ्यो- आफैं हराएको सूचना दिऊँ र तल बगरमा गएर सुनौं आफैं हराएको सूचना। अनि क्रमशः नारायणीमा होमिऊँ।
यो त मन लागेको कुरा भयो। तर, त्यति बेला यस्तो भएथ्यो-
बच्चाले
पानामा घरको चित्र बनाएर पुरानो घरको चर्किएको भित्तामा थुक लगाएर टाँसेको
चित्र जस्तो घाउमा बसेको खाटो। यादको सानो हावाले उडाइदिएको थियो। फेरि
भत्किएको घरको पुराना हाडछाला देखिएका थिए। म बूढो भइसकेको थिएँ। मलाई उभिन
पनि दिनेशको हात समात्नुपरेको थियो।
प्रत्येक साल संक्रान्तिमा यादले क्रान्ति गर्नेछन्।
प्रत्येक
मसान्तको बिहान तिमीले मलाई भग्नावशेष रुपमा भेट्नेछौ। भग्नावशेष रुपमा
पाउनेछौ। पुरानो किल्ला जस्तो। पुरानो मान्छे जस्तो।
म पछि पनि मान्छे नै हुनेछु।
Comments
Post a Comment