हाय ! रे मेरा आँखा

मेरा औँलाका काप भरिभरि,पाइतलाका रेखा भरिभरि फुर्सतहरू उम्रिरहेछन्।म पूर्ण बेरोजगार छु।
एकहातका पाँच औँला चारपटक भाँचिसकेपछि मेरो उमेरको गिन्ती सकिन्छ तर आफूलाई बुढो भएजस्तो लाग्छ।धनीको छोरो भए आमैले नाती खेलाइसक्थिन् ।फेरि गरिबलाई पनि त बे नगर् कसले भनेको छ र ।स्वास्नी ल्याउनु त आँटको कुरा हो।कमसेकम यो उमेरमा एउटी प्रेमिकासम्म चैँ हुनु पर्ने।धत् एउटी मायालु चैँ हुनुपर्छ ,रुन हाँस्नलाई ,भावुक हुनलाई।काँध अड्काउनलाई,हात समाउनलाई,कपालका रौँ सुम्सुम्यादिनलाई अनि पो औँलाका कापकापमा उम्रिएका फुर्सदले पुग्दैन।


हुन त तनाबको अर्को खात रिन खोजेर किन किनौँ जस्तो लाग्छ।लाग्छ रुनका लागि चैँ एउटी प्रेमिका बनाऊँ।तर त्यो मबाट भैसक्यो।रात बित्छ ,दिन बित्छ ।चिम बल्छन् निभ्छन्।समय चिमको बलाइ र निभाइको क्रममा बुढो हुन्छ।

ए बाबु!
यो तीखो आवाजसँगै मेरो सोचाइको क्रम टुक्रिन्छ।कस्तो तेलदार आवाज।बाटोको छेउनिर बसिरहेको मान्छे म उठ्छु।हातमा ससाना ढुङ्गा छन्।खै किन टिपेँ,कति बेला टिपेँ थाहा छैन।अघिको आवाज एउटा बुढा ब्यक्तिको रहेछ।सोध्छन्-यो बाटो कहाँ जान्छ ?यो कस्तो प्रश्न।म अल्मलिन्छु।अनि सोच्छु-हजुर कहाँ जान चाहनुन्छ ?
-मालिका मन्दिर जाऊँ भनेको बाबु !
-जान्छ ।यही बाटो सरासर गएर खोला तरेपछि मोटरबाटो छोडेर गोरेटोबाट ठाडो लाग्नुस्।
-हस् त बाबु ।

बुढा गइसके।मोडसम्म हेरिरहन्छु।मोडमा पुगेपछि फर्किएर हेर्छन् जस्तो लागेको थियो हेरेनन्।किन हेरुन् त नि।
बादलका ससाना काला झुन्ड पहाडका खोँचखोचमा अल्झिएका छन् ।अब घामको आयु धेरै छैन।एकछिनमा घामले मलाई देख्न पाउने छैन

पर काटिएको रुखको ठेटोमाथि एउटी युवती बसेकी छ।कुहिएको रुखनिर च्याउ उम्रिछ।म उसलाई च्याउसँग तुलना गर्दिनँ र गर्नु पनि छैन।सायद ऊ बाख्रा चराउदै छे।सुयोगवीर र भैँसी गोठाल्नीले मेरो मष्तिष्क एकफन्को मारेर जान्छन् ।खै !किन किन।म आफूलाई एकपटक हेर्न मन लाग्छ।म कस्तो रहेछु जस्तो लाग्छ ।घर आउँछु ।ऐना हेर्छु।आज आठौँ दिनका दिन।यसअघि बुटबल बाथरुममा नहेर्दानहेर्दै पनि आफ्नो अनुहार भित्तामा देखेको थिएँ।

एउटा ठूलो पहाड।दुई गुफा ।दुवै गुफामा घना जङ्गल।जङ्गलको बीचमा तलाउ।हाय!रे मेरा आँखा।

Comments

Popular posts from this blog

-खुसी अन गरौँ

एकयात्रा : अन्त्य एक अादर्शको

दिदी ! धेरै माया छ तँलाई । फोन उठा है ...