चुटु चिन्तन [निबन्ध]

…त्यसपछि बूढी औंलाले फेसबुकको पन्ना पल्टाइमाग्छु म । केही तस्बिरहरू छोटो समय देखिँदै लोप हुँदै जान्छन् । एड फ्रेन्ड भन्दै एउटा प्रोफाइल देखिन्छ । म हेर्छु । कतै देखेको मान्छेजस्तो लाग्छ, हेरिरहन्छु । सायद हेरिरहन्छु र देखेको मान्छेजस्तो लाग्छ । क्रमशः धमिलोबाट तिख्खर हुँदै जान्छन् आँखामा केही घटनाहरू र दगुर्छन् । अनायासै म बोलेछु– ‘ऐच् ! बे गरिसकिछ लौ !’
यसो यताउता फर्केर हेर्छु कोठामा कोही छ कि भनेर । एक्लै रहेछु । ढुक्क हुन्छु आफ्नो आवाज कसैले नसुनेकोमा । फेरि आश्चर्यमा पर्छु आफ्नै आवाज सम्झेर, फोटोको निधारमाथि लामो रातो टीका देखेर । फेरि मलाई धेरै समय आश्चर्यमा परिरहन अल्छी लाग्छ ।
हो म कोठामा एक्लै रहेछु । मान्छे एक्लै भएपछि क्रमशः साहसिक हुँदै जाँदो रहेछ । म कतिसम्म एक्लो छु भने म चुक्कुल नलगाईकन ट्वाइलेट बस्न सक्छु । कोही आउँदैनन् भन्नेमा यतिसम्म विश्वास छ मलाई । साहसिकको दृष्टान्त अलिक खल्लो भो है ! भए होस्, मलाई के ।

निधारमाथिको रातो धर्को लामो ताजा घाउजस्तो लाग्छ मलाई । कुन्नि किन उसको नाममा स्पर्श गर्छु म । प्रोफाइल खुल्छ । कभर फोटोमा एक जोडा मान्छे छन् । केटा खासै राम्रो छैन अपेक्षाकृत । मैले बहुत धेरै अपेक्षा गरें क्यारे । केटी हाँसिराछे हृदयाघातक हाँसो ।

केही दृश्य तेजिलो हुँदै जान्छन् मेरा अगाडि । स्मृतिका पाना यसै पल्टिन्छन्, केवल छायाजस्तो बनेर । यस्तो छाया जसमा छाया हो भन्ने प्रमाण ज्योतिले मात्रै दिन सक्छे । गाढा अन्धकारमा तेजिलो प्रकाशले निर्माण गरेको छाया ।
भर्खर ११ कक्षाको परीक्षा दिएर बिदामा म घर गएको थिएँ । कुनै दिन म दिदीको घर पनि पुगें । केही टाढाको दूरीमा छ दिदीको घर । म साप्ताहिक बसाइँ बसें । बसाइँ क्रमशः रमाइलो हुँदै जान थाल्यो । मैले चिनजान गरें धेरै केटाहरूसँग, केटीहरूसँग । अनि ‘चहलपहलम् ददामि’ कार्यक्रम सुरु गरें । तिनै चिनजानमध्ये अलिक धेरै र फरक चिनजान गरेकी मान्छे हो फोटोमा देखिएकी ।

कस्तो राम्री थिई ऊ । पूरा पत्र नफैलिइसकेको तर धेरै पत्र फैलिएको गुलाफजस्तो । ओठमा रङ पोतेकी । अमिलाका दानासमान वक्षस्थल । निधारमा सानो कालो टीका लगाएकी । पछि कुनै दिन भनेकी थिई– कसैको नजर नलागोस् भनेर कालो टीकी लगाकी मैले । उसलाई के थाहा, मेरो पहिलो नजर नै त्यो टीकीमा परेको थियो । मैले त्यही टीकीमै नजर लगाएँ ।

उसको नाम अर्कै थियो । नाम फेरिएछ, थर फेरिएछ, घर फेरिएछ । म सोच्दिनँ, मन फेरियो होला कि नाइँ भनेर । सोच्नुको अर्थ के ? फेरि सोचेर के हुन्छ ? मानौं उसको मन फेरिएको छैन रे ! त्यसको अर्थ के ? के यी कुरा सोच्नु आवश्यक छ ? फेरि आवश्यक कुरा मात्रै सोचिन्छ भन्ने के छ र ? मैले अहिले आएर मात्रै यस्ता कुरा किन सोचें ? कुरा त चार वर्षअघिको हो ।

मान्छेले अनावश्यक कुरा पनि सोचोस्, जान नहुने ठाउँमा पनि जाओस्, एकपटक, त्यो बाटो पनि हिँडोस्, मान्छे एकपटक जहाँबाट फेरि फर्किन मिल्दैन । सम्बन्ध यस्तो पनि बनाओस् मान्छेले एउटा, सम्झिन मिल्छ तर पर्खिन मिल्दैन । र पनि खै किनकिन सोचिल्याउँदा आनन्दले चुम्बन गर्छ हृदयको नाजुक भागमा ।
आनन्द पनि कम्ताको छ र ! चुम्बन गर्छ, त्यो पनि हृदयमा, त्यसमा पनि नाजुक भागमा । नाचिहिँडुँ लाग्छ मलाई जिन्दगीको बाटैबाटो ।

तीन साँझको भेटघाटमै उसले त माया गर्छु भनिदिई । म त कालो मान्छे, यसैयसै झनै कालो भएँ । यस्तो लाग्यो– तीन साँझमा हामीले भेट गर्दाको समयको अँध्यारो जम्मा गरेर राखेकी थिई । अनि आज मैमाथि घोप्ट्याइदिई ।
म त्यो समयमा नै एउटी आइमाईलाई प्रेम गर्दै थिएँ । त्यै नाथे प्रेम । खानु न खुट्नुको प्रेम । त्यै नाथे प्रेमले आज नि रुवाउँछ । जबकि म खुट्टामा प्वाल पर्ने गरेर रड जाँदा पनि रोएन । के औकात छ नाथे प्रेमको जो मलाई रुवाइरहन्छ ? कुनै चिडिया हुन्थ्यो भने प्रेम नामको, ढुंगामाथि त्यसको टाउको राखेर बाह्र–पन्ध्र छपनी ढुंगाले हिर्काउथें । झोकै चलेर आउने के !

मलाई त केही भन्नै आएन । एउटी केटीले माया गर्छु भन्दै छे । अब के गर्नु म । जे गर्नु उसैले गरी । कसोकसो मैले मुख खोलेछु । भनेछ, ‘म राम्रो छैनँ ।’

ऊ फटाफट बोली, ‘मैले रूप हेरेको होइन नि हजुरको ।’
मलाई त रिस उठिआयो । मनमनै भनें, ‘के यत्रो आँखो हेरिस् त रूप नहेरेर ?’
आवाज निकालेर भनें, ‘के हेरेकी त अनि ?’
उसले हाँस्दै भनी, ‘तर हजुरको आँखा राम्रा छन् ।’
हाइज्जो ! म त अन्तै फर्किएँ । उसले मनको कुरा गरी ।
मन हेरेको कुरा गरी । मलाई त भन्नु मन थियो, ‘मन हेरेर सबै नाप्ने भइस् अब ।
त्यै मात्रै बाँकी थ्यो त्यो नि गरिस् ।’

ऊ अबोध बच्चाजस्तै थिई । मलाई मन दुखाइदिने कुनै रहर पलाएन । मैले केही भनिनँ । उसले ‘मन राम्रो हुनुपर्छ, रूप जस्तो भए नि फरक पर्दैन’ के के भनिरही । मलाई प्रतिवाद गर्न मन लागेथ्यो, इस् हो ! तर गरिनँ । मलाई थाहा थियो नामुद वकिलसँग बहस गरेर बरु जित्न सकिन्छ तर ‘रुप होइन मन हेरेकी हुँ’ भन्दै आउनेलाई हराउन मुस्किल हुन्छ । यिनीहरू केवल जित्नका लागि मात्रै त्यसो भन्छन् । होइन भने यहाँ मन हेर्ने हृदय भेट्नु बहुत गाह्रो कुरा हो ।

हामी एक साँझ नदीकिनारमा थियौं । सायद पाँच जनाजति थियौं । दुईजना केटा, बाँकी केटी ।
म एकनास नदीमा ढुंगा हानिरहेथें । उसले भनी, ‘किन ढुंगा फालेको ?’
हाँस्दै भन्छु, ‘बगरमा ढुंगा धेरै भए, अलिकति नदीमा फाल्दिऊँ कि भनेर नि ।’
ऊ ओठ बक्र पार्छे । यो केटीमा कुनै त्यस्तो ठूलो कुरा छैन । सम्झना गरिराखुँ लाग्ने । तर ससाना कुरा छन् बहुत चाखलाग्दा । मैले उतिबेलै पनि उसको बारे केही लेखुँ भन्ने सोचें तर कुन्नि किन लेखिनँ मैले । लेख्थें भनें म यहीँ कुरा लेख्थे– उसले आफूलाई मन परेको कुरामा आँखा कति उज्यालो बनाई, मन नपरेको कुरामा नाक कसरी बंग्याई । यस्तै–यस्तै ।

यस्तैमा केटा साथी भन्छ, ‘खोलापारि ढुंगा कसले पु¥याउने ?’
म ढुंगा टिपेर फ्याँक्न थाल्छु, ऊ पनि फ्याँक्छ । मेरो पुग्दैन, उसको पुग्छ । म हार्छु । फेरि भन्छ, ‘पारि पुराइस् भनें तँलाई उसले माया गर्छे, नत्र गर्दिनँ । ल फ्याँक् ढुंगा ।’

उसले उताबाट यत्तिकै हेरिराछे, उसका साथी हाँसिराछन् । म त यत्तिकै ट्वाँ पर्छु । उसले फाल्ने इसारा गर्छे । मेरो पुरुष हृदयले हार्ने कुरा सोच्दैन । म एउटा च्याप्टो र वजन धेरै भएको ढुंगा टिप्छु । फ्याँक्नुअघि उसलाई हेर्छु । उसले त आँखा बन्द गरेकी छ लौ ! आज सोध्न मन लाग्छ मलाई, के तिमीले भगवान्सँग केही प्रार्थना गरेकी थियौ त्यो समय ?

म फ्याँक्छु ढुंगा । खोलापारि मात्रै होइन अल्लि माथि नै पुग्छ । मेरो पुरुष हृदय जितेकोमा खुसी हुन्छ । उता हेर्छु त ऊ रोइरहेकी छे । म यसै चुपचाप हुन्छु । मलाई जितेर गल्ती गरेंजस्तो लाग्छ ।
अर्कैकी मान्छे !

खै ! त्यो बेला तिमी किन रोयौ मलाई थाहा छैन । तिम्रो हृदयमा प्रेम कति थियोे त्यो पनि थाहा छैन । तर मेरो पाखुरामा बल कम थिएन । मेरो हृदयमा प्रेम ? खै !
आखिर प्रेम भन्नु के नै हो र ? आफूलाई मन पर्ने सबैभन्दा मीठो आदत– प्रेम ।
म केही दिनपछि घर फर्कन्छु र होस्टेलतिर लाग्छु । उसको आफ्नो फोन थिएन । कुनैकुनै बेला बाबाकोबाट फोन गर्थी । हामी छोटो समय बोल्थ्यौं । अचानक एक दिन साँझपख मेरो मोबाइल जफत पर्याे । प्रिन्सिपलले लगिदिए । हाम्रो बोलचाल गिलासको चियाजस्तो घिप्लिक्क पोखियो । पीँधमा चियापत्तीजस्तो टर्रो सम्झना मात्रै बाँकी रह्यो । मैले कुन्नि कति समयपछि गिलास उठाएर पखालें भन्ने कुरा मलाई नै थाहा छैन ।
पाँच महिनापछि मैले मोबाइल त फिर्ता पाएँ तर तिमीलाई तिम्रो बुबाको नम्बरमा फोन गर्ने साहस फिर्ता पाइनँ ।
मलाई माफ गर !
मैले प्रिन्सिपलसँग बदला लिनकै निम्ति प्रिन्सिपलकी छोरीसँग अफेयर चलाएँ ।

०००
घर जानुभन्दा अगाडि मैले भनेको थिए, ‘पर्सि म घर जान्छु ।’
भोलिपल्ट साँझपख ऊ आई भेट्न मलाई । हामी बाटैबाटो परसम्म हिँडिगयौँ, हात नसमातीकनै ।
घर जानुभन्दा अगाडि मैले भनेको थिएँ, ‘पर्सि म घर जान्छु ।’
भोलिपल्ट साँझपख ऊ आई भेट्न मलाई । हामी बाटैबाटो परसम्म हिँडिगयौँ । हात नसमातीकनै, कुम नजोडीकनै । मलाई डर लागिरहेथ्यो कसैले देख्छन् कि भन्ने तर ऊ ढुक्कसँग हिँडिरहेकी थिई । म अझै पनि आइमाई मान्छेको साहस देखेर चकित हुन्छु । कति साहस हुन्छ नारीमा । अझ प्रेममा परेकी नारी होस्, साहसको छुट्टै भण्डार लिएर हिँड्छे । नारी सिसाका टुक्रैटुक्राले बनेको बाटोमा खाली खुट्टा हिँडिदिन सक्छे । नारी कोमल हृदयमा चप्पल लगाएर हिँडिदिन पनि सक्छे । साँच्चिकै साहसी हुन्छन् नारी ।
साँझ घर जाने बेला एउटा सादा खाम मेरो हातमा थमाउँदै उसले भन, ‘कोठामा गएर हेर्नुहोला है । म त यसै खुसी भइगएँ । के थाहा ठूलै नोट पो राखेकी छ कि ! खामभित्र । ऊ सरासर गइरही । म ऊ गएको हेरिरहेँ । साँच्चिकै भनूँ भने उसका नितम्ब हेरिरहेँ । एकपटक त सोचेथें, छि ! के हेरिरहेछु म । तर भित्रको मान्छेले भन्यो, ओइ पाजी, यत्ति जाबो इन्द्रिय सुख पनि लिन डराउँछस् ? अनि मैले बेपत्तासँग हेरिरहेँ ऊ गएको । ऊ मोडबाट रूखहरूको छाया हुँदै हराई ।

अनि उसको नजरबाट म छेकिएँ । अब ऊ आफू उभिएको जमिनबाट चाहेर पनि मलाई देख्न सक्दिनथी । मोडहरू बहुत सुन्दर लाग्छन् मलाई । यिनीहरूले हिँडिसकेको बाटो लुकाइदिन्छन ।
मेरो हातमा खाम थियो । तर बाहिर केही लेखिएको थिएन । अप्ठ्यारो पारामा खामबन्दी गरिएको थियो । बहुत धेरै स्टिज लगाइछ । म पिन निकाल्द ैनिकाल्दै घरतिर हिँडें । घर पुगें दिदीको, तर खाममा अझै तीनवटा पिन बाँकी थिए । कोठामा पुगेर निकालें । उसले भनेजस्तै भो । भनेकी थिई, कोठामा पुगेर हेर्नुहोला । हेरें, चिठी रहेछ ।

म सम्झिन्छु, मैले पाएको पहिलो प्रेमपत्र ।
कठै ! पिनले खोपिएर चिठीको हृदय छियाछिया भएको थियो, कसैको यादले घोचेर दुख्दादुख्दा दुख्न थाकेको मुटुजस्तो ।
सुरुमै आँखा ह्यान्डराइटिङमा पुगेछन् । खासै राम्रो थिएन अक्षर । सुरुमै ‘डियर कृष्ण !’ लेखेकी थिई । कृष्णको छेउमै एउटा झिनो ‘कमा’ पनि थियो ।
लाग्यो नेपाली राम्रो पढ्िदरहिछ । सरले ‘पत्र लेखन’ शीर्षकको पाठ पढाउँदा चर्पी गएकी रहिनछ । केही यस्ता मान्छे हृदयको नजिकै छन् जसलाई देखेर लाग्छ सरले कक्षामा ‘कसैको मन दुखाइदिन हुँदैन’ भनेर पढाउँदै गर्दा अन्तिम बेन्चमा निदाइरहेका÷निदाइरहेकी थिए ।
पढ्दै गएँ । खै ! के के लेखेकी थिई । धेरै त ट्रक सायरी थिए पत्रमा ।
दिलदेखि दिलको बाटो हुन्छ बहुत थोरै किमी ।
फूलहरूमा राम्रो गुलाब, मान्छेहरूमा तिमी तिमी ।
म त यसै हाँसिगएछु । ऐना हेर्दिऊँझैँ लाग्यो । फेरि अल्छी गर्दिऊँझैँ लाग्यो । मैले ऐना हेरिनँ । कति धेरै ट्रक सायरी लेखेकी । यसको ट्रक सायरीप्रतिको मोह देखेर लाग्या, ‘यो छिट्टै ट्रक ड्राइभरसँग पोइला जान्छे ।’
खामबाट बर्गाकार एउटा सेतो कागजलको टुक्रा पनि खस्छ । टिपिहेर्छु । उसको फोटो रहेछ । स्कुले निलो ड्रेस लगाएको आधा छातीसम्म मात्रै देखिने । मनमनै भन्छु, ‘एसएलसीको फाराम भर्न खिचेको फोटो । अनि मुसुक्क हाँस्छु ।

मैले पनि अब चिठी लेख्नुपर्ने भयो । तर लेख्नु के ? दिमागमा केही आएन । एक दुइवटा सायरी सम्झिन खोजें । तैपनि आएन म हुस्सुलाई । बाटोमा ढल्की–ढल्की हिँडेको बस सम्झें, ट्रक सम्झें । अहँ, एउटा सायरी पनि सम्झनामा आएन ।
हात कमाउँदै लेखे, ‘प्यारी चुटु ! खुसी भइरहनु ।
तर त्यसपछि कलम रोकियो । बल गरीगरी सम्झिन खोजें सायरी । अन्तिममा बसको पछाडि लेखेको ‘आमाबुबाको आशीर्वाद’, ट्रकको पछाडि लेखेको ‘फेरि भेटौंला’ सम्झिएँ । अनि मेरो पहिलो प्रेमपत्र यस्तो लेखिया–
प्यारी चुटु !
खुसी भइरहनु सधैं ।
आमा बुबाले भनेको मान्नू । आमाबुबाको आशीर्वाद लाग्छ ।
फेरि भेटौंला ।

कसरी कसरी पट्याएर झ्यालनिर रहेको सेलटेपले टाँसें र साथीलाई दिएँ । ‘उसलाई दिएस् है’ भन्दै अनि म घर आएँ ।
आज उसको प्रोफाइल हेरेपछि अचानक मलाई त्यो पत्रको याद आयो । त्यो फोटोको याद आयो । बाकसभित्र रहेको क्लियर ब्यागबाट निकालेर पत्र र फोटो हेरें । आजसम्म न पत्रका अक्षरहरूको रङ उडेको थियोे न फोटोको नै । तर आज मेरो अनुहारको रंग मसँग थिएन ।

Comments

Popular posts from this blog

-खुसी अन गरौँ

एकयात्रा : अन्त्य एक अादर्शको

दिदी ! धेरै माया छ तँलाई । फोन उठा है ...